अत्तरिया : कुमारी बैंक लिमिटेडको अत्तरिया शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत प्रतिभा सामुदायिक पुस्तकालय, अत्तरियालाई विभिन्न विधाका पुस्तकहरू सहयोग गरेको छ । बैंकले पुस्तकालयलाई कुल रु. ३१ हजार ५७० मूल्य बराबरका ५४ थान उपयोगी पुस्तक हस्तान्तरण गरेको हो ।
पुस्तक हस्तान्तरण कार्यक्रममा बैंकका अत्तरिया शाखा प्रबन्धक नारायणदत्त भण्डारी, कर्मचारी सरिता खर्कवाल र केशव बिनाडी, पुस्तकालयका अध्यक्ष भूपेश जोशी, पदाधिकारी, सदस्य तथा आजीवन सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै शाखा प्रबन्धक भण्डारीले समाजप्रतिको साझा दायित्व निर्वाह गर्न निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले पुस्तकालयजस्ता शैक्षिक संस्थाको विकासमा निजी क्षेत्रको सहकार्य महत्त्वपूर्ण हुने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा कुमारी बैंकले विगतदेखि नै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिइने जानकारी दिए ।
पुस्तकालयका अध्यक्ष भूपेश जोशीले पुस्तकालयको आवश्यकतालाई ध्यानमा राखी गरिएको सहयोगप्रति कुमारी बैंक अत्तरिया शाखाप्रति आभार व्यक्त गरे । उनले यस्ता सहयोगले विद्यार्थी तथा पाठकवर्गमा अध्ययन संस्कृतिको विकास गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
पुस्तकालयका सह-सचिव हेमन्तराज जोशी (बाजे) का अनुसार बैंकले प्रदान गरेका ५४ थान पुस्तकहरू विभिन्न विधाका उपयोगी सामग्री समेटिएका छन्, जसबाट पुस्तकालयका पाठक तथा विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

