धनगढी: राष्ट्रिय सहकारी बैंक लिमिटेडको २४औँ स्थापना दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश कार्यालयद्वारा आयोजित “सहकारी पुनर्जागरण: चुनौतीलाई अवसरमा बदल्ने रणनीति-कानुनी परिवर्तनको असर एवं समाधानको योजना” विषयक प्रदेशस्तरीय गोष्ठी बिहीबार धनगढीस्थित होटल सितारमा सम्पन्न भएको छ ।
बैंकका सञ्चालक मनमोहन विष्टको अध्यक्षता तथा सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय धनगढीका रजिस्ट्रार जयन्ती गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहकारी क्षेत्रसँग आबद्ध विभिन्न संघ-संस्थाका प्रतिनिधि, सहकारीकर्मी तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।
प्रमुख अतिथि गिरीले सहकारी क्षेत्रको वर्तमान अवस्था, देखिएका चुनौती, कानुनी सुधार, सुशासन, पारदर्शिता तथा सदस्यकेन्द्रित व्यवस्थापनमार्फत सहकारी अभियानलाई पुनर्जीवित गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष विष्टले राष्ट्रिय सहकारी बैंकले विगत २४ वर्षदेखि सहकारी संस्थाहरूको वित्तीय सुदृढीकरण, क्षमता विकास र सहकारी अभियानको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सदस्य संस्थासँग सहकार्य गर्दै सहकारी क्षेत्रलाई थप सुदृढ बनाउन बैंक प्रतिबद्ध रहने बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड कैलालीका अध्यक्ष फणीन्द्र सापकोटा र जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेड कञ्चनपुरका अध्यक्ष प्रेमसिंह भाटले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सहभागीहरूले सहकारी क्षेत्रको दिगो विकास, सुशासन, वित्तीय अनुशासन, जोखिम व्यवस्थापन तथा सहकारीप्रतिको जनविश्वास अभिवृद्धिका विषयमा आफ्ना धारणा राखेका थिए । साथै, लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, टिकापुर र जगन्नाथ स्वामी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महेन्द्रनगरको सफलताको कथा समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख हीरालाल सुनारले राख्नुभएको थियो भने सञ्चालन आशा जोशीले गर्नुभएको थियो । समापनका क्रममा कर्मचारी चिरञ्जीवी बडुले स्थापना दिवसलाई केवल उत्सवका रूपमा नभई सहकारी क्षेत्रका समसामयिक विषयमा नीति, रणनीति र सुधारका उपायमाथि सार्थक बहस गर्ने अवसरका रूपमा मनाउँदै आएको जानकारी दिए ।
