कैलालीको टीकापुर पार्कमा एकैदिन १० हजार पर्यटक

तीन लाख २५ हजार रुपैयाँ राजश्व सङ्कलन

कैलाली : कैलालीको टीकापुर उद्यान पार्कमा एकैदिन १० हजारभन्दा बढी पर्यटकले अवलोकन गरेका छन् । शनिवार १० हजार छ सय पर्यटकले पार्कको अवलोकन गरेका हुन् । पार्कमा दशैँ तिहारपछि वनभोज खाने र बाहिरी जिल्लाबाट अवलोकन गर्न आउने पर्यटक बढेका छन् । शनिवार पर्यटकबाट तीन लाख २५ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

पार्कमा यही मङ्सिर १ गते एक लाख रुपैयाँ राजश्व सङ्कलन भएको थियो । दशैँ तिहारपछिको यो समय पर्यटकले पार्कमा भरिभराउ हुन्छ । पर्यटकहरु पार्कमै खाना पकाउने, खाने र त्यही नाचगान गर्दै रमाइलो गर्छन् । थरिथरिका व्यक्ति, थरिथरिका पोसाकमा सजिएकाले पार्कको दृश्य रमाइलो देखिने गरेको छ ।

पार्कका इञ्चार्ज अर्जुन कुँवरले यस वर्षको अहिलेसम्मकै बढी पर्यटक एकै दिन शनिवार भित्रिएका बताए । ‘दैनिक एक हजारभन्दा बढी पर्यटक आइरहेका छन्, शनिवार भने १० हजार भित्रिएु, उनी भन्छन्,वनभोजस्थलमा पानी, खाना पकाउने ठाउँको सुविधा छ ।’ इञ्चार्ज कुँवर पार्क किनारमा रहेको कर्णाली नदीमा र्‍याफ्टिङ र जेट स्कीको आनन्द लिनका लागि पनि पर्यटक आउने गरेको बताउँछन् ।

‘उद्यानमा रमाइलो वातावरण, नदी किनारमा रमाउन पनि मिल्ने भएकाले पर्यटक आकर्षित हुने गरेका छन्’, उनी भन्छन्, ‘सुदूरपश्चिम घुम्न निस्केका पर्यटक पार्कमा पुगेरै फर्किन्छन् ।’ टीकापुर बजारदेखि चार किलोमिटर टाढा कर्णाली नदी किनारमा पार्क छ । उद्यान पार्क ८५ बिघा क्षेत्रफलमा फैलिएको छ । बङ्गला क्षेत्र, नर्सरी र बगैँचाले करिब १३ बिघा जमिन ओगटेको छ ।

पार्कभित्र टीकापुर विकास समितिले निर्माण गरेको महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यान लगायतका संरचना अवलोकन गर्नेहरु पनि त्यत्तिकै छन् । शान्त वातावरण, चिटिक्क मिलाएका लन सजावट र मौसमी र बेमौसमी फूलसँग पार्कमा आउने पर्यटक रमाउने गरेका छन् ।

चितवनबाट घुम्न टीकापुर पुगेका शिक्षक सुरेन्द्र अधिकारी पार्कमा लगानी गरेको भए बढीभन्दा बढी पर्यटक भित्रिने बताउँछन् । ‘घुम्न निस्किएका थियौँ, घोडाघोडी ताल घुमेपछि साथीहरुले उद्यान पनि घुमौँ भन्नुभयो, अनी यहाँ आयौँ’, उनले भने, ‘यहाँ त स्वर्ग जस्तै रहेछ । पूर्वाधार थप्न सकेको भए उद्यान थप रमणीय बनाउन सकिन्थ्यो ।’

यस्तै सुर्खेतका सन्दीप ओली पार्कसँग भएको जमिनको सदुपयोग गर्न लगानी गर्नुपर्ने बताउँछन् । ‘यहाँ बालबालिका र ज्येष्ठ नागरिक रमाउने खालका पूर्वाधार बनाउन आवश्यक छ’, उनले भने, ‘पार्क भित्र पनि आम्दानी हुने खालका संरचना निर्माण गर्नुपर्छ ।’ रासस

Loading...