अत्तरिया : समता स्कुलमा स्मार्ट बोर्ड अभियान सुरु गरिएको छ ।आधुनिक,डिजिटल तथा प्रविधिमैत्री शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले कैलालीको गोदावरी-२ अत्तरिया स्थित समता स्कुलबाट ‘स्मार्ट बोर्ड अभियान’ सुरु गरिएको हो । सबैका लागि शिक्षा भन्ने मुल नाराका साथ संचालन भएको समता एजुकेशन फाउण्डेशनद्वारा संचालित समता स्कुल अत्तरियामा आज गोदावरीका नगरप्रमुख विरेन्द्र भट्टले अभियानको औपचारिक शुभारम्भ गरेका हुन् ।
विद्यालयकी प्रिन्सिपल रितु पाण्डेका अनुसार अभियानअन्तर्गत गरिमा विकास बैंक लिमिटेड तथा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद उपाध्यायको सहयोगमा विद्यालयलाई स्मार्ट बोर्ड प्रदान गरिएको हो ।
समता एजुकेशन फाउन्डेसनका अध्यक्ष दीपक संजेलको लक्ष्यअनुसार २०८५ सालसम्म सुदूरपश्चिम देखि कोशी प्रदेशसम्म रहेका सबै समता विद्यालयमा स्मार्ट बोर्ड विस्तार गर्ने योजना रहेको प्रिन्सिपल पाण्डेले जानकारी दिइन् ।
उनले समता एजुकेशनले २६ वर्षदेखि न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताईन् । साथै अत्तरियामा पनि विगत १० वर्षदेखि सञ्चालनमा रहेको उक्त विद्यालयले असहाय,अनाथ तथा विपन्न वर्गका बालबालिकालाई निःशुल्क तथा गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको जानकारी दिईन् ।
अभियान सफल बनाउन सहयोग गर्ने स्थानीय सरकार, प्रदेश सरकार, गरिमा विकास बैंक, बैंकका सीईओ उपाध्याय, अभिभावक तथा स्थानीय समुदायप्रति विद्यालयले आभार व्यक्त गरेको छ । अभियानबाट विद्यार्थीले आधुनिक प्रविधिमार्फत थप प्रभावकारी र गुणस्तरीय शिक्षा प्राप्त गर्ने विश्वास व्यक्त गरिएको छ ।
अभियानबाट समता स्कुलका विद्यार्थीहरूले आधुनिक प्रविधिमार्फत गुणस्तरीय शिक्षा प्राप्त गर्ने विश्वास व्यक्त गरिएको छ । साथै स्थानीय सरकार, शिक्षाप्रेमी, दातृ निकाय तथा सम्बन्धित सरोकारवालालाई अभियानमा सहयोग गर्न समेत अनुरोध गरिएको छ ।
समता एजुकेशन फाउण्डेशनद्वारा संचालित समता स्कुलहरु सुदूरपश्चिमको कैलाली, बाजुरा लगायत देशैभर सञ्चालनमा रहेका छन् । कैलालीको गोदावरी-२ अत्तरिया, तेघरी स्थित कक्षा ८ सम्म रहेको समता स्कुलमा हाल ४ सय भन्दाबढी बालबालिकाहरु अध्ययनरत रहेका छन् ।
