अमेरिकामा अध्ययनरत कैलालीको गोदावरीका सुशान्त पन्त सम्पर्कविहीन

धनगढी : अध्ययनका सिलसिलामा संयुक्त राज्य अमेरिका पुगेका नेपाली विद्यार्थी सुशान्त पन्त केही दिनदेखि सम्पर्कविहीन भएका छन्।

कैलालीको गोदावरी नगरपालिका–४ घर भएका पन्त अमेरिकाको मिजोरी राज्यस्थित सेन्ट लुइस सहरको वेबस्टर विश्वविद्यालयमा अध्ययनरत थिए। पुख्र्यौली घर डडेल्धुराको अमरगढी भएका २७ वर्षीय पन्त गत साउन १० गते रातिदेखि सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि अपिल गरेको छ।

बेपत्ता सुशान्तका मामा कुन्दन भण्डारीका अनुसार उनी २०८० साल पुस ९ गते अमेरिका पुगेका थिए। अध्ययनसँगै उनी त्यहाँ कामसमेत गर्दै आएका थिए।काम सकेर फर्किने क्रममा पन्त सम्पर्कविहीन भएको बताइएको छ। गत साउन १० गते राति करिब १०ः४५ बजे ग्यास स्टेसनमा काम सकेर कोठातर्फ फर्किने क्रममा सुशान्त अचानक सम्पर्कविहीन भएका हुन्।

उनी बस्दै आएको आवास सेन्ट लुइसको नटिङ्घम एभिन्युमा रहेको परिवारले जनाएको छ।राति अबेरसम्म कोठामा नफर्किएपछि परिवार तथा आफन्तले उनको मोबाइललगायत विभिन्न माध्यमबाट सम्पर्क गर्ने प्रयास गरेका थिए। तर कुनै माध्यमबाट सम्पर्क हुन नसकेपछि परिवार चिन्तित बनेको छ।

सुशान्त सम्पर्कविहीन भएपछि परिवारले स्थानीय प्रहरीमा समेत खोजीका लागि निवेदन दिएको जनाएको छ।

 

Deep Jyoti Pustak psl
Loading...