डोटीमा जनश्रमदान गरेर वडा भरीका सडक मर्मत

डोटी : डोटीको जोरायल गाउँपालिकामा जनश्रमदान गरेर स्थानीय सडक मर्मतमा जुटेका छन् । स्थानीयले वर्षाका कारण अवरुद्ध भएको वडा नम्बर ६ को सानीगाड-सेरा सडक मर्मत गरेका हुन । जोरायल गाउँपालिका-६ का रामबहादुर बोहराले वर्षाका कारण अवरुद्ध भएका वडाभित्रका सबै सडकहरू श्रमदानबाटै सञ्चालन गरेको बताए ।

‘वर्षाका कारण सडक अवरुद्ध भएपछि ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गर्न वडा कार्यालयसम्म जान पनि समस्या हुन थाल्यो’, उनले भने ‘त्यसैले हामी वडावासीहरूले श्रमदानबाटै सडक मर्मत ग¥यौं ।’

वडाका विभिन्न बस्तीहरू वडा कार्यालयभन्दा धेरै टाढा रहेकाले त्यहाँका ज्येष्ठ नागरिकहरू र बिरामीहरूलाई हिँडेर आउन समस्या हुने हुँदा श्रमदानबाटै सडक खोल्नु परेको उनले बताए ।

स्थानीय डम्मरा साउँदले वडाको सानिगाडदेखि सेरा सडक, निरौली-बसौटी सडक, खसरे-अनरकट्टे सडक, मड्यौल-दह सडक, डाडागाउँ-सडक जनश्रमदानबाटै मर्मत गरिएको बताइन । ‘वडा कार्यालयले संयोजन गरेर सडक मर्मतका कार्यहरू भएका हुन्’, उनले भनिन् ‘अहिले यी सडकहरूमा मोटरसाइकलसम्म चल्न सक्ने भएका छन् ।’

मोटरसाइकलबाटै भए पनि ज्येष्ठ नागरिक र बिरामी लैजान सहज हुने उनी बताउँछिन् । स्थानीयले अन्य सडक मर्मत गरे पनि ठुलो समस्या जारिमघाट खोलामा भइरहेको छ । उक्त खोलामा पानी बढी भएकाले पुलको आवश्यकता रहेको स्थानीयको भनाइ छ । खुटिया-दिपायल सडक अन्तरगतको उक्त पुल हालसम्म पनि निर्माण हुन सकेको छैन ।

वडाध्यक्ष गणेश बोहराले जनश्रमदानले सडक मर्मत सम्भार तथा ढल निकास भई सबै सडकहरूमा मोटरसाइकल गुड्न सक्ने भएको बताए । वडा कार्यालयको आव्हानमा वडावासीहरूले देखाएको सक्रियको उच्च प्रशंसा गर्दै अध्यक्ष बोहरा फेरि पनि वर्षा भइरहेकाले कतै सडक अवरुद्ध भए वडावासीहरू पुनः श्रमदानमा जुट्ने विश्वास व्यक्त गरे । उनले वडा कार्यालयको तर्फबाट प्राविधिक सहयोग र जनप्रतिनिधि तथा वडा कर्मचारी उपस्थितमा सके जति सहयोग गर्ने बताए ।

Deep Jyoti Pustak psl
Loading...