अत्तरिया : कैलालीको मालाखेती अस्पतालमा करिब चार महिनापछि रेबिजविरुद्धको खोप (एआरभी) उपलब्ध भएको छ । गोदावरी-३ मा रहेको अस्पतालमा बुधबारदेखि खोप लगाउन सुरु गरिएको अस्पतालकी सूचना अधिकारी सुनिता बोहराले जानकारी दिइन् । सूचना अधिकारी बोहराका अनुसार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन कार्यालयबाट उपलब्ध गराइएको ३ सय ३० डोज अर्थात् १ सय ६५ भाइल खोप मंगलबार मालाखेती अस्पतालमा आइपुगेको हो ।
यसअघि खोप अभावका कारण अस्पतालमा खोप लगाउन आउने बिरामीहरू निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिर्न बाध्य हुँदै आएका थिए । सरकारी अस्पतालमा भने रेबिजविरुद्धको खोप निःशुल्क उपलब्ध हुँदै आएको छ । रेबिज संक्रमित वा शंकास्पद जनावरले टोकेको अवस्थामा चिकित्सकको सल्लाहअनुसार आवश्यक मात्रामा खोप लगाउनुपर्छ ।
खोप अभावका कारण लामो समयदेखि समस्या भोग्दै आएका बिरामीलाई अब सहज हुने अस्पतालले जनाएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले नियमित खरिद प्रक्रियाबाट प्राप्त रेबिजविरुद्धको खोप आवश्यकताका आधारमा सातै प्रदेशमा पठाएको जनाएको छ । प्रदेशबाट सम्बन्धित स्वास्थ्य संस्थामा खोप उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
महाशाखाले कुकुर, बिरालो वा अन्य रेबिज संक्रमित जनावरले टोकेको वा चिथोरेको अवस्थामा घाउलाई तुरुन्तै साबुनपानीले कम्तीमा १५ मिनेटसम्म राम्ररी धुन र सकेसम्म छिटो स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्यकर्मीको सल्लाहअनुसार उपचार तथा खोप लिन आग्रह गरेको छ । रेबिजको लक्षण देखिनुअघि समयमै उपचार र खोप लगाए रोगबाट बच्न सकिने भए पनि लक्षण देखिएपछि रोग प्रायः घातक हुने भएकाले कुनै पनि लापरबाही नगर्न महाशाखाले अनुरोध गरेको छ ।
सरकारले हरेक वर्ष रेबिजविरुद्धको करिब तीन लाख डोज खोप खरिद गरी सरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क वितरण गर्दै आएको छ । यस वर्ष खोप खरिदका दुई वटा टेन्डर रद्द भएपछि देशभरका सरकारी स्वास्थ्य संस्थामा खोपको अभाव भएको थियो ।
