महेन्द्रनगर : मिर्गौला पीडित बिरामीको चाप बढेपछि कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले तेस्रो सिफ्ट (राति) मा पनि ‘डायलाइसिस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ।
अस्पतालमा डायलाइसिस सेवाका लागि शय्या, मेसिन र जनशक्तिको अभाव हुँदा मिर्गौला पीडित बिरामीलाई सेवा दिन समस्या भइरहेको छ। महाकाली प्रादेशिक अस्पतालका प्रवक्ता डा अर्जुन भट्टले बिरामीको चापअनुसार जनशक्ति, शय्या र मेसिनको व्यवस्थापन गरी सेवा सहज बनाउन प्रयास भइरहेको जानकारी दिए।
“१० वटा बेड छन्, दैनिक १८ देखि १९ जनालाई डायलाइसिस सेवा दिनुपर्ने अवस्था छ”, डा भट्टले भने, “जनशक्ति लगायतका विषयमा संरचना विस्तारका लागि माथिल्लो निकायसँग छलफल भइरहेको छ।” उनका अनुसार दैनिक २० देखि २५ जना बिरामी डायलाइसिसका लागि अस्पताल आउने गरेका छन्।
डायलाइसिस सेवामा कार्यरत तथा सम्पर्क व्यक्ति यशोदा गिरीले बिरामीको चापलाई ध्यानमा राखेर दैनिक तीन शत्रमा सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए।
“अहिले बिहान र बेलुकी गरी दुई सिफ्टमा डायलाइसिस सेवा दिइरहेका छौँ”, उनले भने, “रातिको समयमा पनि सेवा दिने गरी जनशक्ति र आवश्यक उपकरण व्यवस्थापनको काम अघि बढेको छ।”
