धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । बिहीबार साँझ बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गरेका हुन् । प्रदेशसभामा सम्बोधन गरेपछि उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका छन् ।
प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन् । गत असार ३१ गते नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो । संविधानअनुसार विश्वासको मत लिनुपर्ने ३० दिनको समयसीमा पनि आज पूरा भएको छ ।
प्रदेशसभाको बैठक साँझ ५ बजे बस्ने भनिए पनि निर्धारित समयभन्दा केही ढिला गरी बैठक सुरु भएको थियो । प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले आफूले पाएको जिम्मेवारीअनुसार काम गरेको बताए । उनले अधिकार नदिने काम गर्न नसक्ने भन्दै आफ्नो नेतृत्वमा प्रदेश सरकार सञ्चालनका क्रममा भएका कामबारे धारणा राखेका थिए ।
मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ । नयाँ सरकार गठनका लागि नेकपा र नेकपा एमालेबिच सहमति भइसकेको बताइएको छ । सहमतिअनुसार नेकपाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी छ ।
