धनगढी :धनगढी उपमहानगरपालिका-४ भगवती टोलस्थित श्री शिवगौरी धाममा रुद्राभिषेक यज्ञ कार्यक्रम आयोजना गरिएको छ । हिन्दु धर्मावलम्बीको आस्था, धार्मिक संस्कार तथा सनातन परम्पराको संरक्षण गर्ने उद्देश्यले श्री शिवगौरी धाम संरक्षण समाजको आयोजनामा धार्मिक अनुष्ठान गरिएको हो ।
भगवान् शिवको आराधना तथा धार्मिक परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष विभिन्न धार्मिक अनुष्ठान गर्दै आएको धामले यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको धामका सचिव इन्द्रसिंहले जानकारी दिए । कार्यक्रमअन्तर्गत शुक्रबार बिहान ८ बजे धाम परिसरबाट कलश यात्रा निकालिएको थियो ।
भगवती टोल संस्था, नमस्ते युवा क्लब, पञ्जली योग समिति, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय, हिन्दु परिषद् नेपाल, शिवपुरी संरक्षण समाजलगायत विभिन्न संघसंस्था तथा स्थानीयको सहभागितामा कलश यात्रा टोल परिक्रमा गरिएको थियो । बिहानदेखि अपराह्नसम्म रुद्राभिषेक यज्ञ सञ्चालन हुने र दिउँसो ३ बजेदेखि पाठपारायण गरिने आयोजकले जनाएको छ ।
यस्तै, साँझ सन्ध्याकालीन आरतीसँगै रुद्राभिषेक यज्ञ समापन गरिने सचिव सिंहले जानकारी दिए । धार्मिक अनुष्ठानमा नगरवासी, भक्तजन तथा जनप्रतिनिधिलाई समेत आमन्त्रण गरिएको धामले जनाएको छ । कार्यक्रमलाई सफल बनाउन श्री शिवगौरी धाम संरक्षण समाजले सम्पूर्ण श्रद्धालु भक्तजनलाई धाम परिसरमा उपस्थित भई धार्मिक अनुष्ठानमा सहभागी हुन अनुरोध गरेको छ ।