अत्तरिया खबरद्वारा छैटौँ वार्षिकोत्सवको अवसरमा आर्थिक सहयोग

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-१० डमौराकी पुष्पा बाग (बोहरा) लाई आर्थिक सहयोग गरिएको छ । सोमबार अत्तरियाबाट प्रकाशित अत्तरिया खबर राष्ट्रिय दैनिकले आफ्नो छैटौँ वार्षिक उत्सवको अवसरमा ९ वर्ष देखि श्रीमान् बेपत्ता भएर बिचल्लीमा परेकी पुष्पालाई आर्थिक सहयोग गरेको हो ।
विवाह भएको ७ महिना पछि रोजगारीका लागि भारतमा गएका श्रीमान् सम्पर्क विहीन भएपछि बिचल्लीमा परेकी उनी हाल ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएकी छिन । उनका हाल ८ वर्षका छोरा रहेका छन् । ‘छोराले आजसम्म आफ्नो बुबालाई देखेको छैन । ७ महिनाको गर्भमा हुँदै श्रीमान् भारतमा गएर बेपत्ता हुनुभएको थियो’ उनले भनिन् ‘अहिले छोरो मम्मी बाबालाई कहिले भेट्छौ भनिरहन्छ ।’

उनले कामको खोजीमा भारतको केरालामा गए पनि ६ महिना सम्म सम्पर्कमा भए पनि त्यसपछि सम्पर्क विहीन भएको बताइन । उनले खोजीका लागि पहल गरे पनि अहिले सम्म भेटाउन नसकेको बताइन । ‘आफ्नो अवस्था नाजुक छ । पहुँच भएसम्म आफन्तले खोजीका लागि पहल गरेका हुन कहीँ भेटिनु भएन’ उनले भनिन् ‘अझै पनि खोजीका लागि सहयोग गरिदिन भन्दै हिँडिरहेकी छु ।’ उनले आफ्नो एक चोटी भए पनि छोरालाई यो तेरो बाउ हो भनेर अनुहार देखाउने इच्छ्या भएको बताइन ।

अत्तरिया खबरले वार्षिकोत्सवको अवसरमा पुष्पालाई १० हजार नगद सहयोग गरेको थियो । उक्त रकम वडाध्यक्ष रवीन्द्र शाही (गुड्डु) ले पुष्पालाई हस्तान्तरण गरेका थिए । उनले वार्षिकोत्सवको अवसरमा अत्तरिया खबरले आफ्नो वडाकी विपन्न महिलालाई सहयोग गरेकोमा धन्यावाद ज्ञापन गरे । उनले पुष्पाका श्रीमानको खोजीका लागि आफूले पनि पहल गरे पनि अहिले सम्म भेटाउन नसकिएको बताए । उनले आगामी दिनमा पनि पुष्पाको श्रीमानको खोजी र उनको जीवनयापन सहजताका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

अत्तरिया खबरका प्रकाशक राज कुमार साउँदले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत सानै भए पनि पुष्पाको परिवारलाई राहत पुगोस् भनेर सहयोग गरिएको बताए । अत्तरिया खबर राष्ट्रिय दैनिक २०७७ भाद्र १ गते देखि सञ्चालनमा आएको थियो । उक्त पत्रिकाले अत्तरिया अनलाइन पनि सञ्चालनमा ल्याएको छ । अत्तरिया खबर दैनिकले स्थापना कालदेखि आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक काम गर्दै आएको छ ।

Deep Jyoti Pustak psl
Loading...