धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले नगरवासीका लागि सञ्चालन गरेको निःशुल्क शव चिस्यान सेवा प्रभावकारी बन्दै गएको छ । उपमहानगरपालिकाले आफ्नै लगानीमा पछिल्लो तीन वर्षदेखि ६ वटा शव चिस्यान उपकरण सञ्चालन गर्दै आएको छ । हालसम्म ७९८ जनाले उक्त सेवा लिइसकेको उपमहानगरपालिकाले जनाएको छ ।
नगर प्रहरी बलले शव चिस्यान आवश्यक पर्ने परिवारको घरमै पुगेर निःशुल्क सेवा उपलब्ध गराउँदै आएको छ । दाहसंस्कार सम्पन्न भएपछि नगर प्रहरीले नै शव चिस्यान उपकरण फिर्ता ल्याउने व्यवस्था मिलाइएको छ ।
विद्युत्बाट सञ्चालन हुने चिस्यान उपकरणमा शवलाई सुरक्षित राख्न सकिन्छ । विदेशमा रहेका वा घरबाट टाढा रहेका आफन्तजन आउन समय लाग्दा मृतकको शव केही समय सुरक्षित राख्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै उपमहानगरपालिकाले यो सेवा सञ्चालन गरेको हो ।
मृत्युलाई रोक्न नसकिए पनि मृतकका आफन्तजन अन्तिम दर्शनका लागि उपस्थित नहुँदासम्म शवलाई सुरक्षित राख्न सहयोग पुगोस् भन्ने उद्देश्यले नगरवासीका लागि निःशुल्क शव चिस्यान सेवा सञ्चालन गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकलाकुमारी रानाले विदेश वा घरबाट टाढा रहेका परिवारका सदस्य घर आइपुग्न समय लाग्दा शव सुरक्षित राख्न समस्या हुने भएकाले निःशुल्क शव चिस्यान सेवाले अन्तिम दर्शनका लागि सहजता प्रदान गरेको बताइन् ।
यसैगरी, उपमहानगरपालिकाले विपन्न परिवारका लागि दाउरा तथा किरिया खर्चबापत ५ हजार रुपैयाँ नगद र निःशुल्क शववाहन सेवा समेत उपलब्ध गराउँदै आएको छ । उपप्रमुख रानाका अनुसार यस्ता सामाजिक तथा कल्याणकारी कार्यक्रममार्फत धनगढी उपमहानगरपालिकालाई क्रमशः कल्याणकारी नगरका रूपमा विकास गर्दै लगिएको छ ।
