अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-२ अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा स्टिम (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) ल्याब सञ्चालनमा ल्याइएको छ । विद्यार्थीमा विज्ञान तथा प्रविधिप्रतिको रुचि बढाउँदै सिर्जनशीलता, प्रयोगात्मक सिकाइ र अनुसन्धान क्षमताको विकास गर्ने उद्देश्यले ल्याब स्थापना गरिएको विद्यालयले जनाएको छ ।
ल्याब उद्घाटनका क्रममा विद्यार्थीहरूले आफूले निर्माण गरेका विभिन्न रोबोट तथा प्रविधिमा आधारित सामग्री प्रदर्शन गरेका थिए । विद्यार्थीले तयार पारेका सामग्रीले उनीहरूको प्राविधिक ज्ञानसँगै नयाँ कुरा सिक्ने र आफैं सिर्जना गर्ने उत्साहसमेत झल्काएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि भट्टराईले स्टिम ल्याबले विद्यार्थीलाई किताबमा सीमित ज्ञानभन्दा बाहिर गएर प्रयोगात्मक रूपमा सिक्ने अवसर प्रदान गर्ने बताएका छन् । विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका विषयलाई व्यवहारसँग जोड्न ल्याब महत्वपूर्ण हुने उनको भनाइ छ ।
विद्यालयका प्रधानाध्यापक वीरबहादुर महताले बदलिँदो समयअनुसार विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्न ल्याब सञ्चालनमा ल्याइएको बताए । विद्यार्थीको रुचि, सिर्जनशीलता र अनुसन्धान क्षमता विकास गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको प्रयासमा ल्याब महत्वपूर्ण उपलब्धि भएको उनले बताएका छन् ।
स्टिम ल्याब सञ्चालनमा आएपछि विद्यार्थीहरू पनि उत्साहित देखिएका छन् । उनीहरूले आफूले पढेका विषयलाई प्रयोग मार्फत बुझ्न पाउने भएकाले सिकाइ अझ प्रभावकारीे हुने बिश्वास गरेका छन् । विद्यालयले स्टिम ल्याबलाई नियमित प्रयोगमा ल्याउँदै विद्यार्थीलाई रोबोटिक्स, प्रविधि तथा प्रयोगात्मक परियोजनामा थप सक्रिय बनाउने जनाएको छ ।
