अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा छाडा पशुचौपाया व्यवस्थापनका लागि शुक्रबार बसेको सर्वपक्षीय भेला निष्कर्षविहीन टुंगिएको छ ।
नगर प्रमुख वीरेन्द्र भट्टको नेतृत्वमा बसेको भेलामा नगरभित्रका विभिन्न क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो । सहभागीहरूले छाडा चौपाया व्यवस्थापन तत्काल गर्नुपर्नेमा जोड दिए पनि कहाँ, के र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा ठोस सहमति जुट्न सकेन् ।
विभिन्न सामुदायिक वनका प्रतिनिधि तथा सरोकारवालासँग थप छलफल गर्ने गरी भदौ ११ गते पुनः छलफल गर्ने भन्दै भेला टुंगिएको हो । अबको भेला गोदावरी-७ गोलादेउ सामुदायिक वनमा रहेको गौशालामा बस्ने नगरपालिकाले जनाएको छ ।
भेलामा कुनै लिखित निर्णय नगरी बैठक टुंग्याइएको भन्दै केही स्थानीयले असन्तुष्टि जनाउदै वादविवाद समेत गरेका थिए ।
छाडा चौपाया व्यवस्थापनको माग गर्दै तीन दिनअघि स्थानीयले नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा तालाबन्दीसमेत गरेका थिए । त्यसपछि नगर प्रमुख भट्टले शुक्रबार सर्वपक्षीय भेला आह्वान गरेका थिए । तर, तालाबन्दी गरिएको ताला दोस्रो दिन नै आफूहरूलाई जानकारी नदिई प्रशासनको सहयोगमा खोलिएको भन्दै स्थानीयले आपत्ति जनाएका थिए ।