तेघरी सैनिक आवासीय महाविद्यालयमा १३औँ छुकछुके रोबोट कार्यशाला, भदौ ८ गते रोबोट फुटबल प्रदर्शनी

अत्तरिया : सैनिक आवासीय महाविद्यालय, तेघरीमा १३औँ छुकछुके रोबोट कार्यशाला उत्साहका साथ सञ्चालन भइरहेको छ । भदौ ४ गतेदेखि सुरु भएको कार्यशाला भदौ ८ गते भव्य समापन समारोह तथा रोबोट फुटबल प्रदर्शनीसहित सम्पन्न हुने विद्यालयले जनाएको छ ।

कार्यशालामा विद्यार्थी तथा शिक्षकहरू सक्रिय रूपमा सहभागी भई रोबोट निर्माण, समस्या समाधान तथा नवप्रवर्तनका विभिन्न चरणमा अभ्यास गरिरहेका छन् । डिजाइनिङ, मेकानिकल एसेम्बली, इलेक्ट्रोनिक इन्टिग्रेसन तथा सफ्टवेयर कन्ट्रोलसम्बन्धी ज्ञानलाई व्यवहारिक अभ्यासमार्फत सिकाउने कार्यशालाको मुख्य उद्देश्य रहेको छ ।

कार्यक्रम विद्यालय व्यवस्थापक प्रमुख खिलबहादुर रानाको समन्वयमा सञ्चालन भइरहेको छ । उहाँले विद्यार्थी तथा शिक्षकहरूलाई उत्साहित गर्दै सिकाइको वातावरणलाई थप प्रेरणादायी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक सिद्धेश्वर पन्तले यस्ता प्रयोगात्मक कार्यक्रमले विद्यार्थीलाई प्रविधिमैत्री भविष्यका लागि तयार पार्न सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार विद्यालयले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप विकासलाई समेत प्राथमिकता दिएको छ ।

कार्यशालाका प्रमुख प्रशिक्षक शेखर साउद हुनुहुन्छ । गोदावरी आविष्कार केन्द्र (GiC) का STEAM Trainer का रूपमा परिचित साउदले विद्यार्थीलाई रोबोटिक्स, नवप्रवर्तन तथा उद्यमशीलतासँग जोड्दै व्यावहारिक ज्ञान प्रदान गरिरहनुभएको छ । कार्यशालाको मुख्य आकर्षण ‘छुकछुके रोबोट’ हो । घरेलु स्तरमै निर्माण गर्न सकिने हिँड्ने रोबोटले फुटबलसमेत खेल्न सक्ने भएकाले विद्यार्थीहरूमा रोबोटिक्सप्रति थप रुचि र उत्साह बढेको छ ।

भदौ ८ गते विद्यार्थीहरूले आफैँ निर्माण गरेका रोबोटको प्रदर्शनसँगै रोबोट फुटबल प्रदर्शनी आयोजना गरिनेछ । विद्यालयले अभिभावक, शुभेच्छुक तथा प्रविधिप्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई विद्यार्थीहरूको सिर्जनात्मक क्षमता र मेहनत अवलोकन गर्न आग्रह गरेको छ । ‘सिकाइलाई गतिविधिसँग जोडौँ, सिर्जना र उद्यमद्वारा अघि बढौँ’ भन्ने नाराका साथ सञ्चालन भइरहेको कार्यशालाले विद्यार्थीहरूमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणित (STEAM) शिक्षाप्रति रुचि बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Deep Jyoti Pustak psl
Loading...