अत्तरिया : कैलालीको अत्तरिया बसपार्कमा बसले किचेर मृत्यु भएकी सिन्की बोहराको शव तीन दिनदेखि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । मृतकका आफन्त र यातायात पक्षबीच दोषीलाई कारबाही तथा परिवारलाई क्षतिपूर्तिको विषयमा सहमति जुट्न नसकेपछि शव अस्पतालमै रहेको हो ।
बझाङको मष्टा गाउँपालिका-६ घर भई हाल गोदावरी नगरपालिका-१ मा बस्दै आएकी ३५ वर्षीया बोहराको आइतबार महेन्द्रनगरबाट दार्चुला जाँदै गरेको महाकाली यातायातको सुपप्र ०२-००१ ख ९५६ नम्बरको बसले किच्दा घटनास्थलमै मृत्यु भएको थियो । उनी अत्तरिया बसपार्कमा पानी र भुजा बेच्दै आएकी थिइन् ।
बसले ब्याक गरेर किचेको भन्दै स्थानीय र आफन्त आक्रोशित भएका थिए। उनीसँगै पानी बेच्ने महिलाहरूले सुरुमा टायरमुनि खुट्टा परेको र त्यसपछि बस ब्याक गरेर किचेको बताएका छन् । यद्यपि, बस ब्याक गरेर किचेको विषयमा आधिकारिक पुष्टि भएको छैन ।
दुर्घटनापछि चालकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै स्थानीय तथा आफन्तले अत्तरिया बजारमा विरोध गरेका थिए । शव उठाउने क्रममा स्थानीय र आफन्तले प्रहरीमाथि आक्रोश व्यक्त गर्दै इलाका प्रहरी कार्यालय मालाखेती घेराउ गर्नुका साथै प्रहरी कार्यालयमा राखिएको बसमाथि ढुंगामुढा गरेका थिए । त्यसक्रममा प्रहरीले लाठीचार्ज गरेको थियो ।
सोमबार इलाका प्रहरी कार्यालय मालाखेतीमा भएको छलफलमा समेत सहमति जुट्न नसकेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरा सिंह महराका अनुसार आज (मंगलबार) पुनः छलफलका लागि बोलाइएको छ ।
बस र चालक हाल इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा छन् ।
