राष्ट्र बैंकमा ३४ जनाका लागि करार रोजगारी, भदौ २३ सम्म आवेदन दिन सकिने

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न ६ पदमा ३४ कर्मचारी करारमा नियुक्त गर्ने भएको छ । बैंकको मानव संसाधन व्यवस्थापन विभागले रक्षक, सिपाही, सवारी चालक, डिस्पेन्सरी र कार्यालय सहयोगी पदका लागि अनलाइन दरखास्त आह्वान गरेको हो ।

बैंकले रक्षकमा एक, सिपाहीमा चार, हलुका सवारी चालकमा सात, बस चालकमा तीन, डिस्पेन्सरीमा दुई र कार्यालय सहयोगीमा १७ जना माग गरेको छ ।

दरखास्त दिन इच्छुक उम्मेदवारले भदौ २३ गतेसम्म अनलाइन आवेदन दिनुपर्नेछ। आवेदनका क्रममा शैक्षिक योग्यता, नागरिकता, अनुभवलगायत आवश्यक प्रमाणपत्र स्क्यान गरी पेस गर्नुपर्ने बैंकले जनाएको छ । उम्मेदवारको उमेर दरखास्त दिने अन्तिम मितिसम्म ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।

रक्षक र सिपाही पदमा नेपाली सेनाबाट निवृत्तिभरण प्राप्त गरेका तथा तोकिएको तहमा सेवा गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् । चालक पदका लागि कक्षा ८ उत्तीर्णसँगै सम्बन्धित क्षेत्रमा सात वर्षको अनुभव र आवश्यक सवारी चालक अनुमतिपत्र अनिवार्य गरिएको छ ।

डिस्पेन्सरी पदका लागि स्टाफ नर्स वा डिप्लोमा फार्मेसी उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा पाँच वर्षको अनुभव मागिएको छ । कार्यालय सहयोगीका लागि कक्षा ८ उत्तीर्ण तथा नेपाल सरकारका निकाय, राष्ट्र बैंक वा बैंक तथा वित्तीय संस्थामा सोही पदमा काम गरी निवृत्तिभरण प्राप्त हुने गरी अवकाश पाएको हुनुपर्नेछ ।

राष्ट्र बैंकले छनोट भएका कर्मचारीसँग छ महिनाका लागि करार सम्झौता गर्नेछ । आवश्यकता अनुसार केन्द्रीय तथा प्रदेशस्थित कार्यालयमा खटाउन सकिने जनाएको छ ।

रक्षक, सिपाही र चालक पदको छनोट लिखित, प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताबाट हुनेछ । आवेदन स्वीकृत भएका उम्मेदवार २० वा सोभन्दा कम भए प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताबाट मात्रै छनोट गरिनेछ ।

डिस्पेन्सरी र कार्यालय सहयोगी पदमा लिखित परीक्षा र अन्तर्वार्ताबाट छनोट गरिनेछ । उम्मेदवार संख्या २० वा सोभन्दा कम भए अन्तर्वार्ताबाट मात्रै छनोट गरिने बैंकले जनाएको छ ।

आवेदन दस्तुर ८०० रुपैयाँ तोकिएको छ । सबै पदको परीक्षा काठमाडौंमा सञ्चालन हुनेछ । आवेदन राष्ट्र बैंकको वेबसाइटको ‘करियर’ खण्डमा रहेको अनलाइन पोर्टलमार्फत दिन सकिनेछ ।

Deep Jyoti Pustak psl
Loading...