तेघरी सैनिक आवासीय महाविद्यालयमा ‘छुकछुके रोबोट’ कार्यशाला सम्पन्न
विद्यार्थीले बनाए फुटबल खेल्ने रोबोट
अत्तरिया : सैनिक आवासीय महाविद्यालय तेघरी कैलालीमा विद्यार्थीको सिर्जनशीलता, प्राविधिक सीप तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित पाँचदिने १३औँ ‘छुकछुके रोबोट’ कार्यशाला सम्पन्न भएको छ ।
भदौ ४ गतेदेखि सुरु भएको कार्यशाला भदौ ८ गते विद्यार्थीले निर्माण गरेका रोबोटको प्रदर्शन तथा रोबोट फुटबल प्रतियोगितासहित सम्पन्न भएको हो। कार्यशालामा विद्यार्थीले आफैँ रोबोट निर्माण, परीक्षण र प्रयोग गरेका थिए ।
कार्यशालाको मुख्य आकर्षण ‘छुकछुके रोबोट’ रहेको थियो। घरेलु स्तरमै निर्माण गर्न सकिने उक्त हिँड्ने रोबोटले फुटबलसमेत खेल्न सक्ने भएकाले विद्यार्थीमा रोबोटिक्स तथा प्रविधिप्रति थप रुचि बढेको विद्यालयले जनाएको छ । रोबोट फुटबल प्रतियोगितामा टिम च्याम्पियन्स विजयी भएको छ । टिम लिटिल इन्जिनियरलाई २-१ गोलअन्तरले पराजित गर्दै च्याम्पियन्सले उपाधि जितेको हो ।
कार्यशालामा विद्यार्थी तथा शिक्षकले डिजाइनिङ, मेकानिकल एसेम्बली, इलेक्ट्रोनिक इन्टिग्रेसन, सफ्टवेयर कन्ट्रोल तथा समस्या समाधानसम्बन्धी प्रयोगात्मक अभ्यास गरेका थिए । विद्यालयका प्रमुख व्यवस्थापक तथा प्रमुख सेनानी खिलबहादुर रानाले सैद्धान्तिक ज्ञानसँगै विद्यार्थीको व्यवहारिक सीप र सिर्जनात्मक क्षमताको विकासलाई प्राथमिकता दिइएको बताए ।
समापन समारोहका प्रमुख अतिथि गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिष पन्तले यस्ता प्रयोगात्मक कार्यक्रमले विद्यार्थीको सिकाइ प्रभावकारी बनाउनुका साथै प्रविधिको क्षेत्रमा अघि बढ्न प्रेरित गर्ने बताए । प्रधानाध्यापक सिद्धेश्वर पन्तले रोबोटिक्सजस्ता गतिविधिले विद्यार्थीलाई प्रविधिमैत्री भविष्यका लागि तयार पार्न महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरे ।
गोदावरी आविष्कार केन्द्रका निर्देशक शेखरराम साउँद कार्यशालाका प्रमुख प्रशिक्षक रहेका थिए ।
