धनगढी :कैलालीको जानकी गाउँपालिकास्थित अमरावती जंगलमा भेटिएको रगत र शंकास्पद सामग्रीले केही दिनपछि भएको रहस्यमय हत्याको पर्दा खोलेको छ।
प्रहरीले लम्कीचुहा घर भई अमरावतीस्थित ससुरालीमा बस्दै आएका दीपक सुनारको हत्या उनकै श्रीमती एमुना सुनारले प्रेमीसँग मिलेर योजना बनाएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एमुनासहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एमुनाका प्रेमी लम्कीका दुर्योधन सुवर्णकार, उनका साथी टीकापुर–३ का रामराजेश महतो तथा कञ्चनपुरको बेलौरी–८ का बीरेन्द्र राना र भीम राना रहेका छन्।जंगलमा भेटिएको रगतले खोल्यो घटनाको रहस्यसाउन २२ गते दिउँसो करिब २ बजे प्रहरीले अमरावती जंगलमा रगतसहित दाउ, प्लास्टिकको थैली, चप्पल, हेल्मेट र जेब्राझोलाको ताना फेला पारेको थियो।
सुरुमा उक्त रगत कसको हो र सामग्री जंगलमा कसरी पुगे भन्ने खुलेको थिएन। फरेन्सिक परीक्षणबाट बरामद रगत मानिसको भएको पुष्टि भएपछि प्रहरीले अनुसन्धानलाई बेपत्ता रहेका दीपक सुनारको खोजीसँग जोडेको थियो। सोही दिन साँझ करिब ५ बजे एमुना श्रीमान् दीपक बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय लम्की पुगेकी थिइन्।
आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै प्रहरीले उनलाई टीकापुर पठाएको थियो।
