आफ्नो ७ महिनाको शिशुलाई बोकेर अर्की आमाको ज्यान बचाउन खटिइन् अनमी प्रेमिला

बझाङ  :बुङ्गल नगरपालिका–३ भानपालीकी २६ वर्षीया बिनिता बोहरालाई प्रसूतिका लागि खिरातडी स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बाटोमै प्रसूति जटिलता देखियो।

प्रसूतिका क्रममा शिशुको काँध अड्किएपछि आमा र गर्भमा रहेको शिशु दुवैको अवस्था जोखिमपूर्ण बनेको थियो। स्वास्थ्य संस्थासम्म पुग्न समय लाग्ने भएपछि घटनाबारे खिरातडी स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी प्रेमिला कुमारी बोहराले जानकारी पाइन्।

त्यसपछि उनी तत्काल घटनास्थलतर्फ लागिन्। प्रेमिला आफैं पनि ७ महिनाको शिशुकी आमा हुन्। आफ्नै नाबालक शिशुको हेरचाह गर्नुपर्ने जिम्मेवारी हुँदाहुँदै पनि उनले संकटमा परेकी अर्की आमाको जीवन बचाउनुलाई प्राथमिकता दिइन्। घटनास्थलमा पुगेपछि प्रेमिलाले गाडीमै बिनिताको स्वास्थ्य अवस्था मूल्याङ्कन गरिन्।

शिशुको काँध अड्किएको अवस्था पहिचान भएपछि उनले उपलब्ध सीमित स्रोत–साधनको प्रयोग गर्दै तत्काल आपत्कालीन प्रसूति व्यवस्थापन सुरु गरिन्। अन्ततः गाडीमै बिनिताले ३.३ किलोग्राम तौलकी छोरीलाई जन्म दिइन्।

जन्मिएलगत्तै नवजात केही समय निसासिएको अवस्थामा रहे पनि प्रेमिलाले तत्काल आवश्यक व्यवस्थापन गरेपछि शिशुको अवस्था क्रमशः सामान्य हुँदै गयो। हाल आमा बिनिता र नवजात छोरी दुवैको अवस्था सामान्य रहेको जनाइएको छ।

Deep Jyoti Pustak psl
Loading...