शिखर नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा २२ लाख सहयोग

डोटी : डोटीको शिखर नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनः स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २२ लाख सहयोग गर्ने भएको छ ।

नगरप्रमुख दीर्घ बहादुर बलायरकाे अध्यक्षतामा बुधबार सम्पन्न नगर कार्यपालिकाको बैठकले नगरपालिकाका जनप्रतिनिधि, नगरपालिका अन्तर्गतका कार्यालय, विद्यालय, स्वाथ्य संस्थामा कार्यरत स्थायी, करार, ज्यालादारी कर्मचारी, स्वाथ्यकर्मी तथा शिक्षकहरुको भाद्र महिनाको खाईपाई आएको तलबबाट २२ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

आर्थिक सहयोगसँगै नगरपालिकाले बाढीका कारण बेपत्ता भएका नागरिकको सकुसल उद्धार एवं घाइतेको स्वास्थ्यपचारको उचित प्रबन्ध मिलाउन र पीडित परिवारलाई पुनःस्थापनाका लागि उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन  सरकारसँग अनुरोध गरेको नगर प्रमुख बलायरले बताए ।

सुरुमा नगरपालिकाका तर्फबाट दुई लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको शिखर नगरपालिकाले कार्यपालिकाको बैठकबाट सहयोग रकम थप गरेको हो ।

त्यस्तै रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा सम्पर्क विहिन भएका शिखर नगरपालिका – ४ का दीपक महराको खोजी उद्धारका लागि उहाँको परिवारलाई एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

Deep Jyoti Pustak psl
Loading...