जाजरकोटमा निमोनियाबाट एक महिने शिशुको मृत्यु

जाजरकोट : जाजरकोटमा चिसोबाट एक महिने शिशुको ज्यान गएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनकी एक महिनाकी छोरी निरुताको चिसोले ज्यान गएको हो ।

भेरी–२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीकाअनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । निमोनियाले बिरामी परेकी निरुताको उपचारका क्रममा ज्यान गएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो ।

चिसोबाट जाजरकोटमा ५० जनाभन्दा बढी बालबालिका बिरामी परेका छन् । चिसोकै कारण ११ जना दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गएको छ । गएको कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

भूकम्पमा परि एक सय ५४ जनाको ज्यान गएको छ भने तीन सय ४६ जना घाइते भएका छन्। भूकम्पबाट २६ हजार पाँच सय ५७ घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।

Loading...