अत्तरियाः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले शिक्षण अस्पतालका लागि स्वास्थ्य सेवातर्फ विभिन्न श्रेणीका १५१ पदमा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ ।
विश्वविद्यालयले मेडिकल अधिकृत, डेन्टल सर्जन, नर्सिङ अधिकृत, स्टाफ नर्ससहित चिकित्सकीय तथा स्वास्थ्य सेवाका विभिन्न १३ पदमा कर्मचारी माग गरेको हो ।
विश्वविद्यालयले सार्वजनिक गरेको विज्ञापनअनुसार स्वास्थ्य सेवा आठौं श्रेणीअन्तर्गत मेडिकल अधिकृत १० जना, डेन्टल सर्जन ४ जना र बायोमेडिकल इन्जिनियर १ जना माग गरिएको छ ।
त्यस्तै, स्वास्थ्य सेवा सातौं श्रेणीमा नर्सिङ अधिकृत १० जना, रेडियोग्राफी अधिकृत १ जना, फार्मेसी अधिकृत २ जना, फिजियोथेरापी अधिकृत २ जना र ल्याब टेक्नोलोजिष्ट ३ जना गरी कुल १८ पदमा दरखास्त आह्वान गरिएको छ ।
सहायक पाँचौं तहमा सबैभन्दा धेरै स्टाफ नर्स ९० जना माग गरिएको छ । यसै तहमा ल्याब टेक्निसियन १० जना, रेडियोग्राफर ६ जना, फिजियोथेरापी सहायक २ जना र फार्मेसी सहायक १० जना गरी ११८ पदमा पदपूर्ति गरिने विश्वविद्यालयले जनाएको छ ।
यसरी विश्वविद्यालयले शिक्षण अस्पतालका लागि अधिकृतदेखि सहायक तहसम्म गरी कुल १५१ स्वास्थ्यकर्मी नियुक्त गर्ने तयारी गरेको छ।
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले स्वास्थ्यकर्मी पदपूर्तिसँगै चिकित्सा क्षेत्रका शैक्षिक कार्यक्रम सञ्चालनको तयारीसमेत अघि बढाएको छ ।
विश्वविद्यालयमा चिकित्सा क्षेत्रका शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधार, जनशक्ति तथा शिक्षण अस्पतालको अवस्थाबारे चिकित्सा शिक्षा आयोगले यसै महिनाभित्र विश्वविद्यालय तथा शिक्षण अस्पतालको अनुगमन गर्ने तयारी गरेको छ ।
आयोगको अनुगमनपछि विश्वविद्यालयमा सञ्चालन हुने चिकित्सा तथा स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रमको सिट निर्धारण हुने बताइएको छ ।

