चितवन : भरतपुर महानगरपालिका-९ बसन्तचोकस्थित पूर्व-पश्चिम राजमार्गको सर्भिस लेनमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ ।
आज बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१-०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको हो ।आगलागीको सूचना प्राप्त हुनासाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।
आगो नियन्त्रणमा लिएपछि कारभित्र हालसम्म नाम, थर र ठेगाना नखुलेको एक जना व्यक्ति जलेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । आगलागीबाट कारमा समेत पूर्ण रूपमा क्षति पुगेको छ ।
मृतकको पहिचान तथा घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
