अत्तरिया : कैलाली बहुमुखी क्याम्पसका स्ववियु उपसभापति कमल कुमार ऐडी नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश प्रतिनिधिका लागि उम्मेदवार बनेका छन् ।
ऐडीले कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नम्बर ५ (क) बाट ३५ वर्षमुनिको समूहमा प्रदेश प्रतिनिधिका लागि उम्मेदवारी दिएका हुन् ।
कांग्रेस कैलाली क्षेत्र नम्बर ५ ले सोमबारदेखि क्षेत्रीय अधिवेशनसँगै प्रदेश प्रतिनिधि चयन प्रक्रिया सुरु गर्दैछ । सोही प्रक्रियाअन्तर्गत ऐडीले प्रदेश प्रतिनिधिका लागि उम्मेदवारी दिएका हुन् ।
विद्यार्थी राजनीतिमा सक्रिय ऐडी हाल कैलाली बहुमुखी क्याम्पसको स्ववियु उपसभापतिको जिम्मेवारीमा छन् । उनी २०७९ सालमा स्ववियु सदस्य निर्वाचित भएका थिए । साथै, उनी नेपाल विद्यार्थी संघ धनगढी उपमहानगरपालिका नगर सचिवसमेत हुन् ।
ऐडी हाल कैलाली बहुमुखी क्याम्पसमा कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (Bsc.CSIT) विषयमा स्नातक तह अध्ययनरत छन् । उनका अनुसार उनले करिब दुई वर्ष अध्यापन गर्नुका साथै विभिन्न संस्थामा रहेर काम गरेको अनुभवसमेत हासिल गरेका छन् ।
युवा पुस्ताको प्रतिनिधित्व गर्दै कांग्रेसको संगठनमा सक्रिय भूमिका निर्वाह गर्ने उद्देश्यले प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिएको ऐडीले बताएका छन् ।