अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित एक डेरीबाट खरिद गरिएको दूधमा किरा भेटिएको गुनासोपछि प्रहरीले डेरी सञ्चालकलाई सोधपुछका लागि पक्राउ गरेको छ ।
सोमबार बिहान स्थानीय पार्वती चौधरीले ‘कैलाली दुग्ध सहकारी संस्था लिमिटेड’ बाट खरिद गरेर घरमा ल्याएको दूधमा सेतो रङको किरा भेटिएको थियो ।सो बारे चिया खान उनको घरमा पुगेका शिव भगवती गौमाता संरक्षणका अध्यक्ष अनुपदत्त भट्टले बिहान ९ः४० बजे प्रहरी चौकी गेटामा मौखिक जानकारी गराएका थिए ।
जानकारी पाएपछि प्रहरी चौकी गेटाबाट प्रहरी सहायक निरीक्षक टिकेश्वरी महराको कमाण्डमा दुई जनाको टोली घटनास्थल पुगेको थियो । प्रहरीले डेरीमा बाँकी दूध खोज्दा फेला नपरेको र सबै दूध बिक्री भइसकेको डेरी सञ्चालक तेजबहादुर खड्काले बताएकोे इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी हिरा सिंह महराले बताएका छन ।
प्रहरीले सञ्चालक खड्कालाई आवश्यक सोधपुछका लागि प्रहरी चौकी गेटामा ल्याई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा बुझाउने प्रक्रिया अघि बढाएको जनाएको छ । घटनाबारे थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।