चुरेका धनबहादुरको पास्नी भोजको विवादमा कुटपिटबाट मृत्यु, शव भीरमा फालिएको खुल्यो

अत्तरिया : कैलालीको चुरे गाउँपालिका-१ निगालीमा पास्नी भोजका क्रममा भएको विवादपछि कुटपिटबाट एक जनाको मृत्यु भएको र घटना लुकाउन शव भीरमा फालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार असोज ५ गते नातेदार धनबहादुर बोहराको नातीको पास्नीमा सहभागी भएका ५२ वर्षीय यज्ञबहादुर बोहरा त्यसपछि सम्पर्कविहीन भएका थिए । खोजी गर्ने क्रममा उनको शव तुलिखेत जंगलको भीरमा फेला परेको थियो ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले भोजमा सहभागी यज्ञबहादुरसँगै मदिरा सेवन गरेका आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पास्नी भएको घरका मूली धनबहादुर बोहरासहित मानबहादुर बोहरा, गोविन्द बोहरा, यज्ञबहादुर बोहरा, दिलीप धामी, रामबहादुर बोहरा, गम्भीर बोहरा र तिलक जेठारा छन् ।

मृतकका छोराले दिएको जाहेरीका आधारमा पक्राउ परेका आठै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी हिरा सिंह महराले बताए । प्रहरीका अनुसार भोजमा मदिरा सेवनका क्रममा यज्ञबहादुर र मानबहादुर बोहराबीच विवाद भएको थियो ।

विवादपछि कुटपिट हुँदा यज्ञबहादुर अचेत अवस्थामा ढलेका थिए । प्रारम्भिक अनुसन्धानमा सोही क्रममा उनको मृत्यु भएको र घटना लुकाउन शव भीरमा फालिएको देखिएको प्रहरीले जनाएको छ ।

घटनासँग सम्बन्धित भिडियो तथा अन्य प्रमाणसमेत प्रहरीले अनुसन्धानमा समेटेको छ । शव भीरमा फाल्ने कार्यमा को–को संलग्न थिए र घटनाको वास्तविक कारण के थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...