दोधारा-चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो

कञ्चनपुर : कञ्चनपुरको दोधारा-चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल भत्किएको छ । महाकाली नदीको बाढीले आज बिहान करिब आठ बजे झोलुङ्गे पुलको एक भाग पूरै भत्काएको हो ।

नदीको बीच भागमा रहेको एक पिलर भत्किएपछि पुलको भाग पनि नदीमा बगेको प्रत्यक्षदर्शीले जनाएका छन् । प्रहरीका अनुसार भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र दोधारा चाँदनी नगरपालिका-४ तर्फबाट तेस्रो नम्बरको भाग भत्किएको हो ।

सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीका अनुसार दोधारा-चाँदनीको झोलुङ्गे पुलमा पुगेको क्षतिबारे अध्ययन गर्न प्राविधिक टोली पठाउने तयारी भइरहेको छ ।

दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने करिब डेढ किलोमिटर लामो सो पुल २०६१ सालमा निर्माण सम्पन्न भएको थियो । महाकाली नदीमाथि बनेको यो पुल एसियाकै दोस्रो लामो पुल हो । यसको लम्बाइ १ हजार ४५२ दशमलव ९६ मिटर रहेको छ ।

आज बिहान करिब चार-पाँच बजे सो पुलबाट ओहोरदोहोर गर्ने स्थानीयले पुलको एक भाग अस्वाभाविक रुपमा माथि उठेको देखेपछि त्यसबारे प्रहरीलाई जानकारी गराएका थिए । तर आज बिहान करिब आठ बजेतिर माथि उठेको सो भाग नदीमा खसेको स्थानियले बताएका छन् ।

पुलको बीचको एक भाग भत्किएपछि दोधारा-चाँदनी र भीमदत्तनगरबीच आवतजावत गर्ने सो बाटो बन्द भएको छ । यो झोलुङे पुल दोधारा-चाँदनीलाई सदरमुकाम महेन्द्रनगरसँग जोड्ने पुल हो ।

हाल महाकालीमा पक्की पुल पनि निर्माण भएको छ । अब आवतजावत गर्दा करिब दुई किलोमटर माथि पुगेर पक्की पुलबाट यात्रा गर्नुपर्ने स्थानियले बताएका छन् । विगतको तुलनामा झोलुङे पुल भन्दा पक्की भएर नै आवतजावत गर्ने गरिएको छ । वर्षौँअघि निर्माण भएको झोलुङे पुल जीर्ण बन्दै गएको थियो ।

Loading...