गोदावरी नगरपालिकाद्धारा बजार अनुगमन, विभिन्न होटल तथा किरानाबाट अखाद्य सामग्री बरामद

अत्तरिया : चाडपर्वलाई लक्षित गर्दै कैलालीको गोदावरी नगरपालिकाले बजार अनुगमन गरिरहेको छ। शुक्रबारबाट सुरु गरिएको अनुगमनका क्रममा विभिन्न होटल, किराना तथा खाद्य सामग्री बिक्री गर्ने पसलबाट म्याद नाघेका तथा अखाद्य सामग्री बरामद गरिएको हो।

नगरपालिकाका अनुसार शुक्रबार अनुगमनको तेस्रो दिन अत्तरिया बजारको पूर्वरोड, बनखेत, लालपुर तथा गोदावरी नगरपालिका–८ स्थित स्याउले बजार क्षेत्रका होटल तथा पसलको निरीक्षण गरिएको थियो। अनुगमनका क्रममा स्याउले बजारको एक पसलबाट भारतीय कम्पनीको मिसावटयुक्त ३० किलो अखाद्य दाल बरामद गरी नष्ट गरिएको छ।

तीन दिनसम्मको अनुगमनका क्रममा म्याद नाघेका मसला, भुजा, ढुसी लागेको मिठाई, सडेगलेका खाद्य सामग्री, अखाद्य रङ मिसाइएको मासु तथा प्रयोग गर्न नमिल्ने प्लास्टिकका चपिङ बोर्ड (कटिङ बोर्ड) लगायतका सामग्री फेला परेको नगरपालिकाले जनाएको छ।

अनुगमनका क्रममा खाद्य सामग्री काट्न तथा तयारी गर्न प्लास्टिकका चपिङ बोर्ड प्रयोग भइरहेको समेत पाइएको थियो। व्यवसायीलाई स्वास्थ्यका दृष्टिले उपयुक्त काठका चपिङ बोर्ड प्रयोग गर्न निर्देशन दिइएको थियो। बरामद भएका म्याद नाघेका तथा अखाद्य सामग्री जफत गरी नष्ट गरिएको नगरपालिकाले जनाएको छ।

यसअघि अनुगमनको पहिलो दिन विभिन्न पसलबाट म्याद नाघेका भुजा, ढुसी लागेको मिठाई तथा सडेगलेका खाद्य सामग्री फेला परेका थिए। दोस्रो दिन पनि चपिङ बोर्डसहित म्याद नाघेका तथा अखाद्य खाद्य सामग्री बरामद गरिएको थियो।

गोदावरी नगरपालिका आर्थिक विकास शाखा प्रमुख समुद्र धामीले उपभोक्ताको स्वास्थ्य तथा हित संरक्षणका लागि विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि चाडपर्व लक्षित बजार अनुगमन गरिएको बताए। चाडपर्वको समयमा खाद्य तथा उपभोग्य वस्तुको कारोबार बढ्ने भएकाले बजारमा अखाद्य, गुणस्तरहीन तथा म्याद नाघेका सामग्रीको बिक्री–वितरण हुन नदिन अनुगमनलाई प्राथमिकता दिइएको उनले बताए।

धामीका अनुसार तीन दिनको नियमित अनुगमन सम्पन्न भए पनि बजार अनुगमन यहीँ रोकिने छैन। आवश्यकताअनुसार नगर क्षेत्रका विभिन्न बजारमा छड्के तथा नियमित अनुगमनलाई निरन्तरता दिइनेछ। उनले व्यापारीहरूलाई खाद्य वस्तुको गुणस्तर, स्वच्छता तथा उपभोग्य मिति जाँच गरेर मात्र बिक्री गर्न आग्रह गर्दै अखाद्य वा म्याद नाघेका सामग्री बिक्री–वितरण गरेको पाइएमा जफत गरी प्रचलित कानुनअनुसार कारबाही गरिने बताए।

नगरपालिकाले उपभोक्तालाई पनि सामान खरिद गर्दा प्याकेटमा उल्लेख गरिएको उपभोग्य मिति, उत्पादन विवरण, लेबल, प्याकेजिङ तथा गुणस्तर जाँच गरेर मात्र खरिद गर्न आग्रह गरेको छ। चाडपर्वका समयमा बजारमा किनमेल तथा खाद्य सामग्रीको माग बढ्ने भएकाले उपभोक्ता र व्यवसायी दुवै पक्षलाई सचेत गराउँदै बजार अनुगमनलाई आगामी दिनमा समेत निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।

Loading...