डोटी : डोटीको सायली गाड (खोला) मा बगेर एक महिलाको मृत्यु भएको छ भने एक पुरुष बेपत्ता भएका छन् । जिल्लाको आदर्श गाउँपालिका-५ तलारास्थित सायली गाडमा बगेर सोही गाउँपालिका-३ घर भई हाल वडा नं. ५ तलारा बस्दै आएकी ३१ वर्षीया लक्ष्मी ओझाको मृत्यु भएको हो ।
उनीसँगै खोलामा बगेका शिखर नगरपालिका-११ घर भई हाल तलारा बस्दै आएका करिब ५० वर्षीय शेरबहादुर बोहरा बेपत्ता छन् । शेरबहादुर र लक्ष्मी शुक्रबार बिहान धान चुट्न भन्दै सायली गाड पारि सोमैजी माडु गएका थिए ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार उनीहरू शनिबार बिहानसम्म पनि घर नफर्किएपछि आफन्त तथा स्थानीयले खोजी थालेका थिए । खोजीका क्रममा उनीहरू शुक्रबार राति नै सोमैजी माडुबाट घर फर्किएको थाहा भएको स्थानियले जानकारी गराएका थिए ।
राति घर फर्किएको भनिएका उनीहरू बिहानसम्म घर नआएपछि आफन्त र छिमेकीले खोजी गर्दा सायली गाडको किनारमा लक्ष्मीको शव फेला परेपछि आदर्श-५ का वडाध्यक्ष उत्तम बहादुर सिंहले प्रहरीलाई जनाकारी गराएका हुन् । सूचना पाएलगत्तै प्रहरी सहायक निरीक्षक सुमन ओझाको कमाण्डमा तीन जनाको टोली घटनास्थलमा खटिएको थियो ।
खोलामा बगेर बेपत्ता भएका शेरबहादुरको भने अझै खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनालगत्तै प्रहरी सहायक निरीक्षक सुमन ओझाको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक बासुदेव अवस्थीको कमाण्डमा ६ जनाको प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।