धनगढीः दसैँ, तिहार तथा छठ पर्वलाई सुरक्षित, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउन जिल्ला प्रहरी कार्यालय कैलालीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । चाडपर्वका बेला हुने यात्रु आवागमन, बजारमा बढ्ने भीडभाड तथा आर्थिक कारोबार, बैंक तथा वित्तीय संस्था, धार्मिक तथा सांस्कृतिक गतिविधि र सीमा क्षेत्रमा हुने आवागमनलाई लक्षित गर्दै प्रहरीले सुरक्षा योजना लागू गरेको हो ।
सुरक्षा व्यवस्थाका लागि कैलालीमा एक हजार १४६ जना प्रहरी कर्मचारी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जोखिम र सुरक्षा संवेदनशीलताका आधारमा प्रहरीलाई जिल्लाका विभिन्न क्षेत्रमा खटाइनेछ । आवश्यकता अनुसार मोबाइल तथा पैदल गस्ती, सादा पोशाक, क्यूआरटी, स्ट्राइकिङ र रिजर्भ टोलीसमेत परिचालन गरिने प्रहरीले जनाएको छ ।
चाडपर्वको समयमा बजार, मुख्य सडक, सार्वजनिक स्थल, बैंक तथा वित्तीय संस्था, व्यापारिक क्षेत्र, बसपार्कलगायत भीडभाड हुने स्थानमा नियमित तथा आकस्मिक गस्ती बढाइनेछ । सम्भावित आपराधिक गतिविधिबारे सूचना संकलन तथा विश्लेषण गरी आवश्यकताअनुसार तत्काल प्रहरी परिचालन गरिनेछ। भारतसँग जोडिएका सीमा क्षेत्रमा समेत विशेष निगरानी बढाइने भएको छ । चोरी, तस्करी, लागुऔषध तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणका लागि नियमित तथा आकस्मिक चेकजाँच गरिने प्रहरीले जनाएको छ ।
चाडपर्वमा घर फर्किने तथा बाहिर जाने यात्रुको सहजता र सुरक्षाका लागि कैलालीका १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । सहायता कक्षबाट यात्रुलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउनुका साथै हराएका वा छुटेका बालबालिका तथा अन्य व्यक्तिको खोज तथा उद्धारमा समन्वय गरिनेछ ।
त्यस्तै, अत्यधिक सवारी चाप र सडक दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीसँगको समन्वयमा सवारी जाँच तथा सडक सुरक्षा व्यवस्था कडा बनाइनेछ । सवारी साधनको अवस्था, चालकले मादक पदार्थ तथा लागुऔषध सेवन गरे÷नगरेको र तीव्र गतिलगायतका विषयमा निगरानी गरिनेछ ।
बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, सहकारी, व्यापारिक प्रतिष्ठान तथा बढी आर्थिक कारोबार हुने क्षेत्रमा पनि विशेष सुरक्षा निगरानी गरिने भएको छ । चोरी, लुटपाट तथा पाकेटमारी नियन्त्रणका लागि सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको छ । प्रहरीले जुवातास, अवैध मदिरा, लागुऔषध, चोरी, लुटपाट तथा अन्य गैरकानुनी गतिविधिविरुद्ध विशेष निगरानी बढाउने जनाएको छ । मन्दिर, धार्मिक स्थल, मेला, बजार तथा अन्य भीडभाड हुने स्थानमा समेत आवश्यक प्रहरी परिचालन गरिनेछ ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा जोखिममा रहेका व्यक्तिको सुरक्षालाई विशेष प्राथमिकता दिइने प्रहरीले जनाएको छ । आगलागी, सडक दुर्घटना, प्राकृतिक विपद् तथा अन्य आकस्मिक घटनामा तत्काल परिचालन हुन सक्ने गरी प्रहरी जनशक्ति र समन्वयको व्यवस्था मिलाइएको छ ।
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन स्थानीय तह, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरिने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीले नागरिकलाई दशैं, तिहार तथा छठ पर्व शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा मनाउन आग्रह गरेको छ । घर, पसल तथा कार्यालय छाडेर बाहिर जाँदा आवश्यक सुरक्षा सावधानी अपनाउन, अपरिचित व्यक्ति तथा शंकास्पद गतिविधिबाट सचेत रहन र कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल नम्बर १०० मा जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ ।