अत्तरियामा मनाईयो विश्व दृष्टि दिवस,आँखाको सुरक्षाबारे जनचेतनामूलक र्‍याली

अत्तरिया : कैलालीको अत्तरियामा विश्व दृष्टि दिवस मनाईएको छ । नेपाल नेत्र ज्योति संघ कैलाली शाखा र गेटा आँखा अस्पतालको संयुक्त आयोजनामा २९औँ विश्व दृष्टि दिवस विभिन्न कार्यक्रम गरी मनाइएको हो ।

‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ अत्तरिया बजारमा बृहत् जनचेतनामूलक र्‍याली निकालिएको थियो । र्‍यालीमा गेटा आँखा अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, चिकित्सक तथा कर्मचारीलगायतको सहभागिता रहेको थियो ।

सहभागीहरूले आँखाको सुरक्षा तथा दृष्टिको महत्त्वबारे जनचेतना फैलाउने विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए । ‘बालबालिकाको दृष्टिको सुनिश्चितता, नेपाल नेत्र ज्योति सङ्घको प्रतिबद्धता’, ‘महिलाले आँखा देखे घरै उज्यालो’, ‘कार्यस्थलमा आँखालाई माया गरौँ’ र ‘संसार टेकाउने आमा, संसार देखाउने आमा’ लगायतका नाराहरू र्‍यालीमा प्रदर्शन गरिएको थियो ।

दिवसकै अवसरमा गेटा आँखा अस्पतालमा आँखाको शल्यक्रिया गरेका बिरामीलाई फलफूल वितरण गर्नुका साथै नेपाल प्रहरी विशेष सुरक्षा गण, वाणी कञ्चनपुरको सहकार्यमा अस्पताल परिसरमा सरसफाइ कार्यक्रमसमेत गरिएको अस्पतालका कार्यवाहक अस्पताल व्यवस्थापक तथा सूचना अधिकारी मानबहादुर चौधरीले जानकारी दिए । उनका अनुसार मानवसेवा आश्रममा निःशुल्क आँखा परीक्षण तथा उपचार कार्यक्रमसमेत सञ्चालन गरिनेछ ।

त्यस्तै, दिवसको अवसरमा दिउँसोसम्म गेटा आँखा अस्पतालसहित अन्य आँखा उपचार केन्द्रमा बिरामीको नामदर्ता निःशुल्क गरिएको अस्पतालकी मेडिकल निर्देशक डा. सुजता भण्डारीले जानकारी दिइन् ।

र्‍यालीलाई सम्बोधन गर्दै नेपाल नेत्र ज्योति संघ कैलालीका अध्यक्ष लोकराज जोशीले दृष्टि सबैका लागि महत्वपूर्ण रहेको बताए । दृष्टिबिना संसार नै अँध्यारो हुने उल्लेख गर्दै उनले आँखाको दृष्टि जोगाउन नेपाल नेत्र ज्योति संघ प्रतिबद्ध भएर काम गरिरहेको बताए।

दृष्टिसम्बन्धी समस्या समयमै पहिचान गरी उपचार गर्न सके दृष्टि जोगाउन सकिने भएकाले नियमित आँखा परीक्षण तथा आँखाको सुरक्षाप्रति सचेत हुनुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो । विश्व दृष्टि दिवस हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार मनाइन्छ ।

Loading...