धनगढी : सुदूरपश्चिम प्रदेशमा पहिलोपटक चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस) अध्यापन हुने भएको छ । कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक सत्र २०८३/८४ का लागि एमबीबीएस अध्ययन गर्न ५० सिट निर्धारण गरिएको छ। चिकित्सा शिक्षा आयोगले सिट निर्धारण गरेसँगै यस क्षेत्रमै चिकित्सक उत्पादन गर्ने लामो समयदेखिको प्रतीक्षा पूरा हुने बाटो खुलेको हो ।
चिकित्सा शिक्षा आयोगले विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालनका लागि ५० सिट उपलब्ध गराएको हो । विश्वविद्यालयका उपकुलपति डा. सुनीलकुमार जोशीका अनुसार एमबीबीएसबाहेक नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी र अप्टोमेट्री विषयमा समेत विद्यार्थी भर्नाका लागि सिट निर्धारण गरिएको छ ।
उपकुलपति जोशीका अनुसार विश्वविद्यालयले नर्सिङमा २०, बीएस्सी मेडिकल ल्याब टेक्नोलोजी (बीएस्सी एमएलटी) मा १० र बी अप्टोमेट्रीमा १० सिट पाएको छ । यससँगै यी चारवटा शैक्षिक कार्यक्रमका लागि कुल ९० सिट निर्धारण भएका छन् ।
एमबीबीएस पढाइ सुरु हुने भएपछि सुदूरपश्चिमका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययनका लागि अन्य प्रदेशका विश्वविद्यालय तथा मेडिकल कलेजमा निर्भर हुनुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ । स्थानीयस्तरमै चिकित्सक उत्पादन हुँदा भविष्यमा प्रदेशका सरकारी तथा निजी स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति उपलब्ध गराउन पनि सहयोग पुग्न सक्छ ।
सुदूरपश्चिममा विशेषज्ञ स्वास्थ्य सेवा र दक्ष जनशक्तिको उपलब्धता लामो समयदेखि चुनौतीका रूपमा रहँदै आएको छ । जटिल रोगको उपचार, विशेषज्ञ चिकित्सकको पहुँच र स्वास्थ्य सेवाका लागि अन्य प्रदेशमा जानुपर्ने अवस्थालाई कम गर्न गेटामा चिकित्सा शिक्षा सञ्चालन महत्त्वपूर्ण मानिएको छ ।
चिकित्सा शिक्षा आयोगले यस वर्ष चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा अघिल्लो वर्षको तुलनामा ४१८ सिट थप गरेको जनाएको छ । त्यस्तै, एमबीबीएसतर्फ मात्रै ११० सिट वृद्धि गरिएको छ ।