बाल विवाह रोक्न किशोरी समूह सक्रिय

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा हुने बाल विवाह रोक्न नौ वटै जिल्लाका किशोरी समूहहरू सक्रिय रहेका छन्। प्रदेशको कैलालीसहित सबै जिल्लामा किशोरी समूहहरूले बाल विवाह न्यूनीकरणका लागि भूमिका खेल्दै आएका हुन्।

महिला हिंसा विरुद्धको १६ दिने अभियानको सुरु गर्दै धनगढीमा आयोजना गरिएको बाल विवाह विरुद्ध किशोरीहरूसँग २ दिने प्रदेश स्तरीय कार्यशाला गोष्ठीमा उनीहरूले प्रदेशका जिल्लाहरूको वाल विवाहको अवस्थाका बारेमा बताएका थिए।

किशोरी समूहहरूका कारण ग्रामीण क्षेत्रमा बाल विवाहको दरमा कमी आएको तर्क उनीहरूको छ। प्रदेश स्तरीय किशोरी सञ्जालले आयोजना गरिएका उक्त गोष्ठीमा सहभागी किशोरी कैलालीको बर्दगोरिया गाउँपालिकाकी कुतीका सोनामले जिल्लाका तीन स्थानीय तहमा काम गर्दै आएको बताइन।

उनले बर्दगोरिया र जानकी गाउँपालिका तथा लम्की चुहा नगरपालिकामा बाल विवाहको विरुद्धमा काम गर्दै आएको बताइन। उनले बर्दगोरिया गाउँपालिका वडा नम्बर ८ मा बाल विवाह रोक्न विवाह गर्दा वडाको स्वीकृति लिनु पर्ने प्रावधान लागु भएको बताइन्। बाल विवाह गर्नेलाई वडाको सेवाबाट वञ्चित गर्दै आएको उनले बताइन्। तीन वटा स्थानीय तहमा ५० वटा बाल विवाह रोक्न सफल भएको उनको दाबी छ।

ग्रामीण क्षेत्रमा बाल विवाहको विरोध गर्नु चुनौती पनि रहेको उनले बताइन्। राजनीति र परिवारका सदस्यबाट विभिन्न दबाब आउने गरेको गुनासो उनको छ। बैतडीकी किशोरी मोना कुमारी अवस्थीले बाल क्लब, युवा क्लब र अभिभावक क्लब मार्फत बाल विवाह रोक्न जनचेतनामूलक काम गर्दै आएको बताइन। उता, बाजुराको खप्तडछेडेदह गाउँपालीकाकी धनसार शाहीले चार वर्षमा जिल्लामा बाल विवाहको दरमा कमी आएको बताइन्।

एक सय १८ बाल विवाहबाट सातौमा झरेको तर्क उनको छ। किशोरी समूहका कारण चार वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएको दाबी गरिन। तीनले न्याय पाएको उनले बताइन। महिला विकास मञ्चको सहयोगमा १५ किशोरीहरूलाई विद्यालय भर्ना गरिएको उनले बताइन। बाजुराकी अनिशा विष्टले खप्तडछेडेदह गाउँपालिका बाजुरा जिल्लाकै सबैभन्दा बढी बाल विवाह हुने पालीका भएको दाबी गरिन। उनले २८ वटा किशोरी समूह गठन गरिएको बताइन।

अछामकी सत्य ठकुल्लाले सम विकास नेपालको सहयोगमा बाल विवाह न्यूनीकरण गर्न काम गर्दै आएको बताईन। उनले विद्यालयहरूमा सेनेटरी प्याडको व्यवस्था गर्न सफल भएको बताएकी छन्। कैलालीकी विमला कठायतले बाल विवाह गरे कानुनी कारबाहीको बारेमा बताइन। उनले १८ वर्ष मुनीका किशोरीको मन्जुरीमा पनि गरिएको शारीरिक सम्बन्ध बलात्कार हुने बताइन।

प्रमुख अतिथि समेत रहेकी सुदूरपश्चिमकी उप–सभामुख कोईली देवी चौधरीले थारू समुदायमा गर्भमै मगनी गर्ने चलन अनुसार आफु पनि बाल विवाहको शिकार भएको बताईन। उनले १२ वर्षको उमेरमै आफ्नो विवाह भएको जानकारी दिइन्। कञ्चनपुरको पुनर्वास नगरपालिकाकी उप प्रमुख भुलीया रानाले पनि ६ वर्षको उमेरमै आफ्नो मगनी भएको बताइन।

नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्ण प्रसाद जैसीले एक वर्षमा प्रतिफल खोज्न कृषि, १० बर्षमा प्रतिफल खोज्न फलफूल र वर्षौ वर्ष प्रतिफल खोज्न बालबालिकामा लगानी लगाउनु पर्ने बताए। सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दान बहादुर सुनारले कानुनको कार्यान्वयन गरेर समाजमा रहेका विकृति विसंगतीलाई रोक्नु पर्ने बताए।

दलित महिला अधिकार मञ्च, सम विकास केन्द्र अछाम, दलित समाज विकास मञ्च बैतडी, परोपकार ग्रामीण विकास संघ बैतडी र महिला विकास मञ्च बाजुरा लगायत ५ ओटा संस्थाले प्रदेश स्तरीय किशोरी सञ्जाललाई सहयोग गर्दै आएका छन्।

Loading...