२५ सय किसानको हातमा ‘किसान कार्ड’

धनगढी : कैलाली र कञ्चनपुरका दुई हजार पाँच सय किसानलाई ‘किसान कार्ड’ वितरण गरिएको छ।

दुई जिल्लामा सिसा परियोजना मार्फत ‘किसान कार्ड’ वितरण गरिएको हो। सिसा परियोजनाले किसानलाई बीउ, मल खाद तथा उपकरण खरिदका लागि र बैङ्क मार्फत ऋणका लागि सहज हुने गरी ‘किसान कार्ड’ उपलब्ध गराएको हो।

सिसा परियोजनाका अनुसार उपकरण खरिद र बैङ्कबाट ऋणका लागि दुई प्रकारका कार्डहरू तयार पारिएका छन्। बजारबाट सामान खरिदका लागि डेबिट र बैङ्कबाट ऋणका लागि क्रेडिट कार्डको सुविधा उपलब्ध गराइएको छ।

परियोजनामार्फत अहिलेसम्म कार्ड भएका २५० किसानले सहुलियत ऋण पाएका छन्। उनीहरूलाई बिना धितो बैङ्कले ऋण प्रवाह गरेको हो। २ सय बढीले उपकरण खरिद गरेका छन्। बैङ्कले २५ हजारदेखि १५ लाख रुपैयाँसम्म कार्ड भएका किसानलाई बिना धितो ऋण दिने जनाएको छ।

परियोजनाले बैङ्क तथा वित्तीय संस्था, व्यवसायी र किसानका बिचमा किसान कार्ड मार्फत सम्झौता गरेको छ। किसानलाई कार्डमार्फत डिजिटल बैँकिङमा सहभागिता गराएको छ।

भारतमा सन १९९० मा प्रयोगमा आएको किसान कार्डको नीति नेपाल राष्ट्र बैङ्कले १९ र २० औँ मौद्रिक नीतिमा समावेश गरेको थियो। तर, नेपालमा किसान कार्डका लागि नीति नभएकाले बैङ्कहरूले लगानी गर्न सकेका छैनन्।

किसान कार्डलाई प्रयोगमा ल्याउन कृषि विकास बैङ्कलाई राष्ट्र बैङ्कले निर्देशन समेत दिएको थियो। सुदूरपश्चिम प्रदेश सरकारले समेत किसान कार्डलाई प्राथमिकता दिएको छ।

Deep Jyoti Pustak psl
Loading...