राम जानकी मन्दिर निर्माणका लागि एक करोड बढीको जग्गादान

कञ्चनपुर : कञ्चनपुरमा मन्दिर निर्माणका लागि जग्गादान गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका १६ मझगाउँमा राम जानकी मन्दिर निर्माणका लागि दुई जनाले एक करोड रुपैयाँ भन्दा बढी मूल्य पर्ने जग्गा दान गरेका छन्।

मन्दिरसँगै सार्वजनिक बहुउद्देश्यीय सभाहल, ज्येष्ठ नागरिक विश्राम स्थल, ज्ञानवृद्धि पुस्तकालय, ध्यानयोग तथा साधना केन्द्र, लागू औषध दुर्व्यसनी सुधार कक्ष, विवाह मण्डप र बाल उद्यान निर्माणका लागि ७ कठ्ठा जमिन दान गरेका हुन्।

नेपाल प्रहरीका पूर्व एआईजीपी दिपेन्द्र विष्ट र स्थानीय शमशेर ठुकराठीले संयुक्त रुपमा उक्त जग्गा दान गरेका हुन्। यसैगरी मन्दिर निर्माणका लागि अमेरिकामा रहेका व्यक्तिले पनि आर्थिक सहयोग गरेका छन्।

कैलाली र कञ्चनपुरमा घर भई हाल अमेरिकामा बसोबास गर्नेहरुले ४ लाख बढी सहयोग गरेका छन्। शुक्लाफाँटा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पूर्व अध्यक्ष पुस्करबहादुर सिंहको पहलमा उक्त रकम संकलन भएको हो।

संकलित रकम सोमवार मन्दिर निर्माण समितिका अध्यक्ष समेत रहेका विष्टलाई हस्तान्तरण गरिएको छ। यसैगरी मन्दिर निर्माणका लागि सहयोग गर्नेहरुलाई सोमवार दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

Deep Jyoti Pustak psl
Loading...