अत्तरिया : केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलामात्रै बेचबिखनको जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेका छन् ।
मानव बेचबिखन र ओसारपसारमा पछिल्लो समय लोकप्रिय भइरहेको सामाजिक सञ्जाल टिकटकको दुरुपयोग तीव्ररुपमा बढिरहेको छ । विशेषगरी किशोरावस्थाका युवती टिकटकका माध्यमबाट अपरिचित व्यक्तिको सम्पर्कमा पुगी बेचबिखनको जोखिममा परेका छन् । पछिल्लो समय धेरै प्रयोगमा आएको सामाजिक सञ्जाल टिकटकबाट सम्बन्ध विस्तार गरी महिला बेचबिखनको जोखिममा पर्ने गरेका छन् ।
टिकटकको माध्यमबाट चिनजान र कुराकानी भइ घरबाट हिँडेका घटनामा जोखिम बढी पाइएको छ । माइती नेपालले यसरी टिकटकको माध्यमबाट चिनजान भइ सीमापार जान लागेका किशोरीलाई उद्धार गरेपछि टिकटक पनि बेचबिखनको माध्यम बनेको खुलेको हो ।
पछिल्लो छ महिनामा टिकटकको माध्यमबाट चिनजान भएकै आधारमा घर छाडेका युवती बेचबिखनको जोखिममा परेको जनाउँदै परिवारले खोजतलासका लागि माइती नेपालका बिभीन्न कार्यालयमा निवेदन दिएका छन् ।
सामाजिक सञ्जालमा एकअर्कालाई साथी बनाएर कुरा गरेकै भरमा बेचिन पुग्नेजस्ता जोखिम देखा पर्न थालेका छन् । अझ अहिले बेचबिखनमा टिकटकको प्रयोग चुनौतीपूर्ण देखिन थालेको छ । मानव बेचबिखनमा टिकटकको प्रयोग तीव्ररूपमा बढिरहेको छ । यसले अशिक्षित र गाउँका महिलामात्रै होइन, शिक्षित र सहरिया महिला पनि जोखिममा छन् ।’
राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा महिला जानाजान जोखिम मोल्न तयार हुने गरेको पाइएको छ ।