गोदावरीमा सरोकारवाला निकायसंग अपाङ्गता सवालमा अन्तरक्रिया कार्यक्रमको आयोजना
अपाङ्गमैत्री संरचना नहुँदा समस्या भोग्दै आएको गुनासो
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा सरोकारवाला निकायसंग अपाङ्गता सवालमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। ३२औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको पुर्वसन्ध्यामा शुक्रबार नगरस्तरिय अपाङ्ग कार्य सञ्जाल गोदावरी नगरपालिकाले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिले नगरमा अपाङ्गमैत्री संरचना नहुँदा आफुहरुले समस्या भोग्दै आएको बताएका थिए । उनीहरुले नगरको प्रशासकीय भवनदेखि अन्य सरकारी तथा गैर सरकारी सार्वजनिक भवनहरू अपाङ्ग मैत्री नहुँदा आफुहरुले समस्या भोग्दै आएको बताएका हुन् । उनीहरुले आफुहरुलाई सार्वजनिक यातायातमा छुट नदिएको, शिक्षामा लोकसेवा लगायतका निशुल्क कक्षाहरुका लागि कुनै पहल नचालेको, नगरपालिकाले कर्मचारी आवश्यकता सम्बन्धी खुलाएको बिज्ञापनमा अपाङ्गता कोटा नछुट्याएको लगायतका गुनासाहरु राखेका थिए । गोदावरी नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको यथार्थ तथ्याङ्क पनि संकलन गर्नुपर्ने माग गरेका छन् ।
व्हीलचेयर एसोसिएसन कैलालीका अध्यक्ष लक्ष्मण विकले नगरपालिकाको मुख्य प्रशासकीय भवन नै अपाङ्ग मैत्री नहुँदा समस्या भएको बताए । उनले नगरबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंकहरू पनि दोस्रो तलामा हुँदा भत्ता लिन अरुको सहारा लिनुपर्ने अवस्था भएको बताए । आगामी दिनमा यस्ता समस्या समाधान गरिनुपर्ने उनको माग छ । सुप समावेशी आविकी शिक्षिका कुष्मा जोशीले नगरपालिकाको हल, प्रमुख प्रशासकीय अधिकृत, नगरप्रमुख, उपप्रमुखको कार्यकक्ष दोस्रो तलामा हुँदा अपाङ्गता भएका व्यक्तिहरूलाई समस्या हुने गरेको बताइन् ।
नगरपालिकाले दिने अन्य रोजगारका अवसर र कार्यक्रमहरूमा पनि अपाङ्गता भएका व्यक्तिहरूलाई व्यवास्था गरिदै आएको अपाङ्गता भएका व्यक्तिहरुले कार्यक्रममा गुनासो गरेका थिए । अपाङ्ग उत्थान समाजका अध्यक्ष नरदीप धामीले भाडाको घर हुँदा पनि नगरप्रमुख अपाङ्ग मैत्री भवन भएन भनेर भुइँतलामा बसेकोमा हाल आफ्नै भवन हुँदा दोस्रो तलामा बस्दा अपाङ्गता भएका व्यक्तिहरूको पहुँचबाट टाढा भएको बताए । उनले नगरपालिकामा बन्ने अन्य संरचनामा पनि यस्ता समस्या भएकाले सुधार गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले नगरमा केही संरचना अझै अपाङ्गमैत्री नभएकाले त्यसमा सुधार गरिने बताए । उनले नगरपालिकाको दोस्रो तलामा जानको लागि लिफ्ट जडान गरे समस्या हट्ने बताए ।
यस्तै गोदावरी नगरपालिकाको पञ्जिकरण,सामाजिक सुरक्षा र सामाजिक विकास शाखाका प्रमुख ज्ञानेन्द्र कुमार भट्टले नगरपालिकाबाट वितरण हुँदा सामाजिक सुरक्षा भत्ता वितरण गरिने बैंकहरू भुइँतलामा हेल्प डेस्क राख्नको लागि बैंकहरूलाई पत्राचार गरि पहल गरिने बताए । गोदावरीका वडा नम्बर ३, ११ र १२ मा बैंकमार्फत वडामै सामाजिक सुरक्षा भत्ता वितरण गरिदै आएकाले अन्य वडामा पनि वडामै वितरण गर्ने प्रक्रिया अगाडि बढेको सामाजिक विकास शाखाका प्रमुख भट्टले बताए ।
गोदावरी नगरपालिकाले आर्थिक सहयोग गरेकोे अन्तरक्रिया कार्यक्रममा गोदावरी नगरपालिकाका बिभिन्न शाखा प्रमुखहरु, ट्राफिक प्रहरी, नेपाल प्रहरी र अपाङ्गता भएका व्यक्तिहरुको उपस्थिती रहेको थियो । नगरस्तरिय अपाङ्ग कार्य सञ्जाल गोदावरीकी उपाध्यक्ष खडक बुढाको सभापतित्वमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट प्रमुख अतिथी रहेका थिए । कार्यक्रमको सहजीकरण राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदुरपश्चिमका अध्यक्ष मान बहादुर साउँदले गरेका थिए ।
