गोदावरीमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु 

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । सोमबार नगरपालिकाको वडा नम्बर १२ चापमा नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका छन् ।

चालु आर्थिक वर्षका लागि सञ्चालन हुने परिश्रममा आधारित उक्त कार्यक्रम अन्तरगत वडामा बाटो खन्ने, ढुंगा छाप्ने काम सञ्चालन गरिने जनाइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षका लागि वडाबाट १० जना छनोट भएको वडा अध्यक्ष भीम बहादुर खड्काले बताए ।

सय दिनसम्म सञ्चालन हुने प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत नगरपालिकामा ७३ जनालाई रोजगारी दिइने नगरपालिकाका रोजगार संयोजक रोहित प्रसाद जोशीले बताएका छन । उनले अन्य वडामा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने बताए ।

केही महिना अगाडी पालिकामा फारम भरेकाहरु मध्ये विपन्न, गरीब, पिछडिएका लाइ प्राथमिकतामा राखी रोजगार दिने प्रक्रिया अनुसार कार्यक्रम सञ्चालन भएको छ ।

गोदावरी १२ मा रोजगार कार्यक्रममा छनोट भई काम गर्ने १० जना लाई ७ लाखको बीमा सहित १०० दिन काम गरेमा ६८ हजार रुपैयाँ प्रति ब्यक्तिले पाउने रोजगार कार्यक्रम संयोजक जोशीले बताए ।

दैनिक ८ घण्टा काम गर्नु पर्ने उनले बताए । उक्त कार्यक्रममा ६० प्रतिशत महिला नै हुनुपर्ने भएकोले गोदावरी-१२ मा सबै १० जना महिला नै रहेका छन् ।

Loading...