नेपाल–भारत सीमास्तम्भको मर्मत तथा रङरोगनको काम सुरु

कञ्चनपुर : कैलाली र कञ्चनपुरमा नेपाल–भारत सीमास्तम्भको मर्मत तथा रङरोगनको काम सुरु भएको छ ।

सशस्त्र प्रहरीले दुई जिल्लाका एक सय ६९ वटा बिजोर नम्बरका सीमास्तम्भको मर्मत तथा रङरोगन गर्न लागेको हो । बङ्ग्राकटानस्थित ७४९–१ नम्बरको सीमास्तम्भको आइतबार रङरोगन गर्दै मर्मत कार्यको सुरुवात गरिएको हो ।

धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल, प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपाने तथा भारतीय सशस्त्र सीमा सुरक्षा बल ३९ बटालियनका सहायक कमान्डर कनैया नेथानीले सीमास्तम्भमा रङरोगन गर्दै मर्मत कार्यको शुभारम्भ गरेका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका अनुसार कैलालीमा बिजोर नम्बरका एक सय तीनवटा सीमास्तम्भको मर्मत तथा रङरोगन गरिने बताइएका छ ।

सरकारबाट प्राप्त जिम्मेवारीअनुरूप सशस्त्र प्रहरीले कार्ययोजना बनाएरै कैलाली र कञ्चनपुरमा रहेका बिजोर नम्बरका सीमास्तम्भको मर्मत र रङरोगन कार्य सुरु गरेको सशस्त्र प्रहरी नायब महानिरीक्षक न्यौपानेले बताए । नापी विभाग तथा भारतीय सीमा सुरक्षा बलको समेत समन्वयमा सशस्त्र प्रहरीले सीमास्तम्भ मर्मत र रङरोगनको काम गर्ने उनको भनाइ छ ।

विजोर नम्बरका सीमास्तम्भको सशस्त्र प्रहरी र जोर नम्बरका सीमास्तम्भको मर्मतसम्भार भारतीय सीमा सुरक्षा बलले गर्ने दुई देशबीच सहमति छ । कैलालीमा भारतसँग जोडिएको एक सय एक किलोमिटर भन्दा लामो खुला सिमाना छ ।

कञ्चनपुरमा ६६ वटा सीमास्तम्भको मर्मत र रङरोगन गरिने सशस्त्र प्रहरी बल ३५ नम्बर गणका प्रहरी नायब उपरीक्षक भरत कुँवरले जानकारी दिए । जिल्लाभरि मुख्य र सहायक गरी तीन सय ९० वटा सीमास्तम्भ रहेकोमा सन् २०१४ पछि बनेका ६६ वटा स्तम्भको अहिले मर्मत र रङरोगन गरिने बताए ।

Loading...