धनगढी : कैलाली उद्योग वाणिज्य संघले शुक्रवार पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
उद्योग वाणिज्य संघले प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने १७ औं संस्करण सुदूरपश्चिम महोत्सवको तयारी पूरा भएको जनाएको हो। यो वर्ष पनि सुदूरपश्चिम महोत्सव मंसिर २२ देखि पुस २ गतेसम्म चल्ने छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा शुक्रवार मध्याह्न १२ः३० मा महोत्सव उद्घाटन हुने आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ। यो वर्ष महोत्सवमा ३ करोड लगानी भएको र १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ।
महोत्सवमा करिब ६ लाख बढी व्यक्तिले अवलोकन गर्ने अनुमान उद्योग वाणिज्य संघले गरेको छ। महोत्सवमा सुदूरपश्चिमका परिकार सहितका स्थलमा खानाको स्टल रहने, चौधरी र राना समुदायको संस्कृति जगेर्नाका लागि सङ्ग्रहालय सहितको अलग थारू गाउँ निर्माण गरिएको छ।
महोत्सव प्रवेशको लागि यो वर्ष विद्यार्थीलाई ५० रुपैयाँ र सर्वसाधारणलाई एक सय रुपैयाँ टिकट लाग्ने छ भने फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क जान दिने व्यवस्था मिलाइएको छ।