कञ्चनपुरमा किसान र चिनीमिल सहमतिमा आए

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरस्थित महाकाली सुगर मिलमा पुगेर आन्दोलित भएका किसानहरु सहमतिमा आएका छन् । मिलले पर्चीविनाका उखुका ट्रली चलान गरी तौल गर्ने बताएपछि किसान सहमतिमा आएका हुन् ।

उखु काटिसकेका स्थानीय किसानलाई पर्ची नदिएको भन्दै सोमबार किसानहरु मिलभित्रै आन्दोलित भएका थिए । मिलले पर्ची दिन ढिलो गर्दा काटेको उखु खेतमा सुकिरहेको भनेर आन्दोलित बनेका किसानले मिलमा उखु तौल रोकेका थिए ।

मिलभित्र पर्चीविना राखिएका उखु ट्रलीलाई चलान गरी तौल गरिने सहमतिपछि करिब २ घण्टा बन्द रहेको मिल सञ्चालनमा आएको थियो । किसान आन्दोलित भएपछि प्रहरी चौकी भुडाबाट प्रहरी टोली खटिएको थियो ।

उखु मिलले हिजो र आज किसानका नाममा पर्ची नकाट्ने जनाएपछि पर्चीविना उखु लगेका किसानलाई बाहिरपठाइएको थियो । त्यसपछि सिमावर्ती क्षेत्रबाट उखु निर्वाध रुपमा नेपाल भित्रने, स्थानीय किसानले पर्ची नै नपाउने र व्यापारीहरुलाई पर्ची दिने गरेको भन्दै किसानहरु आक्रोशित भएका थिए ।

Loading...