गोदावरीमा लागुऔषध सेवनकर्तासंग गर्नुपर्ने व्यवहारका बिषयमा अन्तरक्रिया

अत्तरिया : कैलालीको गोदावरीमा लागुऔषध सेवनकर्तासंग गर्नुपर्ने व्यवहारका बिषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । लागूऔषध नियन्त्रण ब्युरो काठमाण्डौले लागूऔषध सेवनकर्ताहरु सँग गर्नुपर्ने व्यवहारका विषयमा गोदावरी नगरपालिकामा मंगलबार सचेतनामूलक कार्यक्रम संचालन गरेको हो ।

लागूऔषध नियन्त्रण ब्युरो कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले लागूऔषध दुर्व्यसन नियन्त्रणका कार्यक्रम सँगसँगै प्रयोगकर्ता सँग गरिने व्यवहारमा पनि सुधार गर्न सचेत गरिरहेको बताए । उनले लागूऔषधको बारेमा र यसको नियन्त्रण सम्बन्धी प्रशिक्षण दिएका थिए । लागुऔषध सेवनकर्ता पहिचान गर्ने तरिका, लक्षणहरु, नियन्त्रण कसरि गर्ने साथै नियन्त्रण गरिएका प्रयासहरु बारेमा जानकारी गराएका थिए ।

पहिलो प्राथमिकता दुर्व्यसनीमा नफसून् भन्ने भएपनि यस्तो दुर्व्यसनीमा फसिहाले त्यसलाई सामाजमा पुनःस्थापना गर्न पनि उतिकै महत्वपूर्ण रहेको उनले बताए । लागूऔषध प्रयोगकर्तालाई बिरामीको रुपमा व्यवहार गरिनुपर्ने बताए । लागूऔषध प्रयोगकर्तालाई सामाजमा पुनस्थापना गर्न मनोसामाजिक परामर्श दिने, माया गर्ने, परिवारको प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्न आवश्यक रहेको प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए । उनले दुर्व्यसनीबाट बालबालिकालाई टाढा गर्न बालबालिका मार्फत नै सचेतनाका कार्यक्रम संचालन गर्न थालिएको बताएका छन् । लागूऔषध नियन्त्रण ब्युरो काठमाण्डौले ‘लागूऔषध सेवनकर्ताहरु सँग गर्नुपर्ने व्यवहार’ का विषयमा पालिका स्तरमा सचेतनामूलक कार्यक्रम संचालन गरिरहेको छ ।

कार्यक्रममा सहभागिले लागूऔषधको समस्या भयावह अवस्थामा फैलिरहेकाले यसको नियन्त्रणका लागि सबैपक्ष सक्रिय हुन आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै उग्रतारा सुधार केन्द्रका सञ्चालक विमल भट्टले लागूऔषधमा फसेकालाई आवश्यक परामर्श दिन सके सामाजमा पुनः स्थापना गर्न सकिने बताए । उनले सुधार गृहमा १० प्रतिशत मात्रै पूर्ण रुपमा निको हुने भएकाले यसको दलदलमा फस्न नदिनु नै उपयुक्त हुने बताए । यस्तै अत्तरिया उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अशोक देवकोटाले लागूऔषधको नियन्त्रणको लागि पालिका स्तरमा वृहत सचेतना कार्यक्रम आवश्यक रहेको बताए । उनले भयावह अवस्थामा फैलिरहेको लागूऔषधको समस्यालाई सामान्य रुपमा लिन नहुने बताए ।

प्याब्सनका केन्द्रिय उपाध्यक्ष जगबिर थापाले बालबालिकालाई लागूऔषधको दुर्व्यसनीबाट जोगाउन विद्यालयमा सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकायाले नगरपालिकाले प्रहरीसँग समन्वय गरेर लागूऔषध नियन्त्रणको लागि सचेतना कार्यक्रम सञ्चालन गरिरहेको बताइन् । पछिल्लो समय बालबालिका आमावुवाको भन्दा पनि साथिभाइकै कुरा बढी सुन्ने भएकाले बालबालिका मार्फत सचेत गराउन आवश्यक रहेको उनको भनाई छ । बालबालिकालाई लागूऔषधको दुर्व्यसनीमा फस्नबाट बचाउनको लागि अभिभावक र विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधीहरु, बिद्यार्थी, अभिभावन, सेवनकर्ता, पत्रकार लगायतको उपस्थिीती रहेको थियो । कार्यक्रमको सहजीकरण प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रेम बहादुर शाहीले गरेका थिए ।

नेपालमा लागुऔषध सेवनकर्ताहरुको तथ्यांक २०६३, २०६९ र २०७६ सालमा सर्बेक्षण भएको थियो । तथ्यांक अनुसार २०६३ मा ४६ हजार, २०६९ मा ९१ हजार र २०७६ सालमा १ लाख ३० हजार लागुऔषध सेवनकर्ताहरु रहेको पाईएको छ । पछिल्लो समयमा लागुऔषध सेवनकर्ताहरु बढ्दै गएका छन् । २०७६ को सर्वेक्षका अनुसार कैलाली देशकै दोस्रो नम्बरमा बढी लागुऔषधको कारोबार र सेवनकर्ता रहेको पाईएको छ । लागुऔषध दुर्व्यसनीमा सबै भन्दा बढी २५ देखि २९ वर्ष उमेर समुहका व्यक्तिहरू फसेको पाइएको छ ।

Loading...