सुदूरपश्चिममा रास्वपाको नयाँ अभियान, अभियानमा जोडिन सस्तो शुल्क निर्धारण

अत्तरिया : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिममा नयाँ अभियान सुरु गरेको छ । आज (बुधबार) अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै रास्वपाले ‘घण्टीमित्र’ अभियान सुरु गरेको जनाएको छ ।

रास्वपा प्रति आस्थावान व्यक्तिलाई पार्टीमा जोड्नका लागि ‘घण्टीमित्र’ अभियान सुरु गरिएको रास्वपाका प्रदेश प्रवक्ता सन्तोष जोशीले बताए । उनले पार्टीको सदस्यता नलिएका तथा लिन नसक्ने व्यक्ति यस अभियानमा जोडिने बताए ।

अभियानमा जोडिनका लागि प्रदेश समितिले कार्यविधि बनाएर १ सय रुपैयाँ शुल्क निर्धारण गरेको जनाएको छ । यस्ता ‘घण्टीमित्र’ सदस्यहरू पार्टीका गतिविधि, बहस, छलफलमा सहभागि हुन पाउने भएपनि पार्टीको अधिवेशनमा उम्मेदवार र भोटर भने बन्न नपाउने प्रवक्ता जोशीले बताए ।

उनले पार्टी सदस्यता शुल्क तिर्न नसकेर पार्टीमा जोडिनबाट बञ्चित भएकाहरू पनि यो अभियानमार्फत जोडिन सक्ने बताए । रास्वपाले पार्टी सदस्यता ५ वर्षको लागि एकमुष्ट १ हजार राखेका थियो ।

यस अभियानबाट एउटा नयाँ समुह निर्माण हुने उनले बताए । ‘घण्टीमित्र’ अभियानमा जोडिएकाहरुलाई पार्टीको कार्ड दिइने छ । यद्यपि पार्टीले सिफारिस गरेको आधारमा निःशुल्क सदस्यता लिने व्यवस्था रहेको उनको भनाइ छ । रास्वपाकी प्रदेश कोषाध्यक्ष जसु भट्टले पार्टीप्रति आस्थावान भएर पनि कुनै कार्ड अथवा चिनो नभएको गुनासो गर्ने व्यक्तिलाई ‘घण्टीमित्र’ अभियानले जोड्ने बताइन् ।

जनताबाट आएको आवाजलाई सम्बोधन गर्न ‘घण्टीमित्र’ अभियान सुरु गरिएको उनको भनाई छ । रास्वपाका गोदावरी नगर सभापति दीपक ओझाले पार्टीप्रति आस्थावान भएका व्यक्तिलाई अपनत्वको भावना जागृत गर्न ‘घण्टीमित्र’ अभियान सुरु गरिएको बताए । उनले अभियान वडाबाट सुरु गरेर केन्द्र सम्म पु¥याउने अपेक्षा लिएको बताए ।

वडाहरुमा संगठन विस्तार गर्ने क्रममा धेरै मानिस जोडिएका भएपनि सदस्यता शुल्क महङ्गो भएकै कारण पार्टीमा आवद्ध नभएकालाई ‘घण्टीमित्र’ अभियानले जोड्ने रास्वपाका गोदावरी नगर सचिव भानदेव पनेरुले बताए ।

उनले हजार रुपैयाँ तिरेर पार्टीको सदस्यता लिनु र १ सय तिरेर ‘घण्टीमित्र’ बन्नु आस्थाका हिसाबले समान हुने बताएका छन् ।

यो अभियान कैलालीको गोदावरी नगरपालिकाबाट शुरु गरिएको बताईएको छ ।

Loading...