अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-९ बल्मीका स्थानिय एक महिलाबाट लुटिएका छन् । गाउँका करिब २० परिवार भारतीय एक महिलाबाट लुटिएका हुन् ।
नाम, ठेगाना नखुलेकी ती भारतीय महिलाले हरेक घरबाट डेढ तोलाका दरले १५ देखि २० तोला सुन संकलन गरेर अहिले फरार भएको पीडितहरुले गुनासो गरेका छन् । पुरुष काम बिशेषले घर बाहिर भएका परिवारका महिलालाई निसाना बनाएर सुन, चाँदी, तामा, काँसा, पित्तल लगेर फरार रहेकी ती महिलाले २० परिवारलाई ठगेको स्थानीय अशोक रोकायाले बताएका छन् ।
फरार रहेकी ती महिलाले सुरुमा पुराना भाडा लिएर नयाँ भाडा निःशुल्क रुपमा दिने कार्यबाट ठगीको योजना बनाएको बुझिएको छ । कुनै महिलाबाट सुरुमा दुई हजार नगद मागेर अर्कोदिन त्यो भन्दा बढी पैसा दिएर पनि ठगीको योजना बनाएको खुल्न आएको छ ।
यसैगरी एक तोला सुन दियो भने दुई तोला पाइने भन्दै गाउँका महिलालाई ठगी गरेको स्थानीयको गुनासो छ । काखमा बच्चा च्यापेर चार पाँच दिन नियमित गाउँमा आइरहने ती महिलाले स्थानीयका सबै भाँडावर्तन समेत लगेर फरार छिन् ।