गुलरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले निःशुल्क आँखा शिविर सञ्चालनमा ल्याएको छ । कृष्णपुर नगरपालिकाको आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालनमा ल्याईएको हो । आज (आइतबार) वडा न.१ को कुमगडाबाट नगर उपप्रमुख द्रोपती रानाले नि:शुल्क आँखा शिविरको उद्घाटन गरेकी हुन ।
उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख रानाले भौगोलिक हिसाबले नगरको सबैभन्दा विकटमा रहेको कुमगडा, गोजे क्षेत्रबाट आँखा शिविरको शुरुवात गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताइन । उनले यहाँका जनताको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले घरआगनसम्मै शिविर सञ्चालनमा ल्याएको भन्दै सबै नागरीकहरुले सेवा लिनुपर्ने बताइन ।
त्यस्तै वडा न.१ का अध्यक्ष मोहन बहादुर बस्नेतले वडाका थप दुई ठाउँमा आँखा शिविर सञ्चालन हुने भएपनि नगरप्रमुखले कुमगडा, गोजे क्षेत्रका नागरिकलाई निगाली र दोमिल्लामा आउन जान गाहृो पर्ने भएकोले कुमगडा, गोजे मै सेवा दिन आग्रह गर्नुभएको थियो त्यसैले यतैबाट सेवा दिएको बताए । उनले विकासका दृष्टिकोणले पछि परेको कुमगडा, गोजे क्षेत्रको समग्र विकास कसरी गर्न सकिन्छ भनेर सबैजना चिन्तित रहेको भन्दै बिस्तारै विकास निर्माणका गतिविधि समेत अगाडी बढ्ने बताए ।
आँखा शिविरमा प्राविधिक सहयोग गरिरहेको संस्था धनगढी नेत्रालयका डा.आशिष पाण्डेयले नगरपालिकासँग जोडिएर दुरदराजका नागरिकको सेवा गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । उनले धनगढी नेत्रालयले कुनै रकम नलिएर कृष्णपुर नगरपालिकामा १७ दिनसम्म सेवा गर्ने बताए ।
आँखा शिविरमा सेवा लिन आएकी स्थानिय प्रमिला जेठाराले कुमगडा, गोजे क्षेत्रमा आजसम्म यस्ताखाले शिविर कहिल्यै नआएको भन्दै सेवा लिन पाउँदा अन्यन्तै खुशी लागेको बताइन । त्यस्तै स्थानीय दिल बहादुर खत्रीले आफूहरुका लागि पनि स्थानीय सरकार भएको अनुभुति भएको भन्दै जनप्रतिधिलाई धन्यवाद ज्ञापन गरे ।
आँखा शिवरको पहिलो दिन वडा न.१ को कुमगडा, गोजे क्षेत्रका १ सय ६८ जनाले सेवा लिएको कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन बहादुर बिस्टले जानकारी दिए । शिविरमा निःशुल्क आँखा जाँच, आवश्यक पर्नेलाई निःशुल्क चस्मा वितरण र अप्रेशन गर्नुपर्ने बिरामीलाई आफ्नै सवारी साधनमा राखेर निःशुल्क अप्रेशन गरिने धनगढी नेत्रालयका डा.आशिष पाण्डेयले बताए ।
आईतबारबाट शुरु भएको निःशुल्क आँखा शिविर नगरका ९ वटै वडाका १२ वडा स्वास्थ्य संस्थामा गरी पौष १७ गतेसम्म सञ्चालन गरिनेछ । कृष्णपुर नगरपालिका वडा न. १ का अध्यक्ष मोहन बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नगर उपप्रमुख द्रोपती राना प्रमुख अतिथि रहेकी थिइन ।
त्यस्तै कार्यक्रममा कार्यपालिका सदस्य मदन नेपाली, दिल बहादुर टमाटा, रत्ना कुमारी बोहरा, धनगढी नेत्रालयका नेत्र विशेषज्ञ टोली, कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन बहादुर बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

