अत्तरिया : कैलालीको गोदावरी नगरपालिका घेराउ गरिएको छ । नगरपालिकाको वडा नम्बर ६ का स्थानीयहरुले तेघरीमा रहेको नगरपालिकाको कार्यालय घेराउ गरेका छन् । वडामा नगरपालिकाले जग्गा नापीको कार्य अगाडि नबढाएको भन्दै उनिहरुले नगरपालिका घेराउ गरेका हुन ।
वडा नम्बर -६ का स्थानीय नगरपालिका घेराउ गर्न ट्रक रिजर्भ गरेर आएका थिए । सो क्रममा उनिहरुले नगरपालिका र नगरप्रमुखका विरुद्ध समेत नाराबाजी गरेका थिए ।
वडा कार्यालयमा बिरोध सकेर उनिहरु थप बिरोधको लागि नगरपालिका कार्यालय पुगेका हुन । स्थानीय जयराज फुलाराले वडाको दक्षिण टोलमा नापीको कार्य नगरेकाले आन्दोलित हुनु परेको बताए । उनले पटक पटक नगरपालिकालाई जानकारी गराए पनि बेवास्ता गरिएको आरोप लगाए ।
अर्का स्थानीय जितराज जोशीले नगरपालिकाले एउटै वडामा पनि भेदभाव गरेको गुनासो गरे । नापी कार्यलाई निरन्तरता दिनुपर्ने भन्दै उनीहरु नगरपालिका पुगेका थिए ।
नगरपालिकामा नयाँ आर्थिक बर्षदेखी नापी कार्य रोकिएको छ । जनप्रतिनिधिका अनुसार नगरपालिकाको नापि कार्य टेन्डर पक्रियाबाट गर्ने योजना रहेको थियो । टेन्डर प्रक्रियामा रहेको तर टेन्डर भने भएको थिएन् । टेन्डर प्रक्रिया गर्ने या नगर्ने भन्ने बिषयमा अन्योल रहेको गोदावरी नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत हरिदत्त भट्टले बताएका छन् । उनले यसको बारेमा सल्लाह गरेर नापी कार्यलाई चाडै निरन्तरता दिने बताए ।
‘टेन्डर प्रक्रिया गर्ने या नगर्ने यस बारेमा हामी सल्लाह गर्छौ, हामी प्रक्रियामै छौ,टेन्डर गर्यो भने करिब २ महिना लाग्छ,त्यसैले छोटो प्रक्रियाबाट गर्ने सोचमा छौ ।’ उनले भने ‘अगाढी नगरमा कारोबारका खातापाता बन्द भए, नापि कार्यका लागि फाईल बनाउन पनि बाँकी छ,हामी चाडै समस्या सामाधान गर्नेमा छौ ।