कञ्चनपुरमा छोटो अवधिमा ठूलो संख्यामा लागुऔषधमा संलग्नहरु पक्राउ

कञ्चनपुर : कञ्चनपुरबाट पाँच महिनाको अवधिमा ठूलो संख्यामा लागुऔषधमा संलग्नहरु पक्राउ परेका छन्। लागुऔषध सेवन, ओसारपसार र कारोबारमा संलग्न गरी चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म एक सय १९ जना लागुऔषधसहित पक्राउ परेका हुन्।

पक्राउ परेकामध्ये अधिकांश युवा उमेरका छन्। १६ देखि २५ वर्ष उमेर समुहका ६९ तथा २६ देखि ३५ वर्ष उमेर समुहका ४० जना लागुऔषधसहित पक्राउ परेको प्रहरीको तथ्यांक छ।

सो अवधिसम्म ७८ जना विरुद्ध मुद्दा दायर गरिएको छ। जिल्लाका विभिन्न स्थानबाट एक सय १० पुरुष, चार महिला र पाँच जना भारतीय लागुऔषधसहित पक्राउ परेका छन्। साउन महिनामा सबैभन्दा बढी २९, भदौमा २३, असोजमा १८, कात्तिकमा २६ र मंसिरमा २३ जना लागुऔषधसहित पक्राउ परेका हुन्।

कञ्चनपुरबाट कैलालीका ८, डडेल्धुराका पाँच र डोटीका दुई गरी १५ जना लागुऔषधसहित पक्राउ परेका छन्। त्यस्तै भीमदत्त नगर क्षेत्रबाट ३२, बेलौरीबाट १८ र पुनर्वास नगरपालिका क्षेत्रबाट १० जना विरुद्ध मुद्दा दर्ता गरिएको छ।

साथै कृष्णपुरबाट पाँच, दोधारा–चाँदनीबाट चार, वेदकोटबाट तीन, शुक्लाफाँटाबाट तीन र बेलडाँडी गाउँपालिका क्षेत्रबाट पनि दुई जना विरुद्ध मुद्दा दर्ता गरिएको छ।

Deep Jyoti Pustak psl
Loading...