डडेल्धुरा : अनेरास्ववियुका विद्यार्थी ताल सरसफाइ गर्न आलिताल पुगेका छन । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) आलिताल गाउँ कमिटी र परशुराम नगर कमिटीका विद्यार्थीहरूले आलिताल गाउँपालिका–३ मा अवस्थित ताल आलितालको सरसफाइ गरेका हुन।
आलितालको बृहत् सरसफाइ अभियानअन्तर्गत तेस्रो दिन सोमबार अनेरास्ववियुका विद्यार्थीहरू पनि सरसफाइ कार्यक्रममा सहभागी भएका हुन्। ‘हाम्रो आलिताल हाम्रो सान, पर्यटकीय विकासका लागि सामूहिक अभियान’ भन्ने मूल नारासहित आलिताल गाउँपालिका र रणबम गण दह ब्यारेक डडेल्धुराको संयुक्त आयोजनामा शनिबारदेखि त्रिदिवसीय आलिताल बृहत् सरसफाइ कार्यक्रम सुरु भएको थीयो।
आलितालमा चलिरहेको सरसफाइ अभियानलाई सहयोग गर्न अनेरास्ववियुको आलिताल गाउँ र परशुराम नगर कमिटी आलिताल परिसरमा पुगेर सरसफाइ गर्न जुटेको अनेरास्ववियु डडेल्धुरा जील्ला कमिटि कार्यालय सदस्य जगदीश धानुकले बताए।
अनेरास्ववियुको टिमले ताल वरपर रहेका झाँडी सफाइ गरेको हो। सरसफाइ कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री पठानसिंह बोहरा, राष्ट्रियसभाका पूर्व सदस्य चक्रप्रसाद स्नेही लगायत अन्य स्थानीयको सहभागिता रहेको थियो।