नेपाल नेत्रज्योति संघ सुदूरपश्चिम प्रदेशको दोस्रो प्रदेश अधिवेशन सम्पन्न

गेटा आँखा अस्पतालले सुदूरबासीलाई सर्वसुलभ सेवा दिएको छ : नगरप्रमुख भट्ट

अत्तरिया : नेपाल नेत्रज्योति संघ सुदूरपश्चिम प्रदेशको दोस्रो प्रदेश अधिवेशन सम्पन्न भएको छ । कैलालीको गेटा आँखा अस्पतालमा आज प्रदेशको दोस्रो प्रदेश अधिवेशन सम्पन्न भएको हो । नेपाल नेत्र ज्योती संघ सुदूरपश्चिमका अध्यक्ष चक्र बहादुर सिंहको सभापतित्वमा आयोजित कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले गेटा आँखा अस्पतालले सुदूरबासीहरुलाई सर्वसुलभ सेवा दिन सफल भएको बताए । उनले आँखा अस्पतालको सेवाले आफु निकै खुसी भएको समेत बताए । ‘सुदूरका दुरदराजका नागरिकहरुलाई सहज र सर्वसुलभ सेवा दिने काम अस्पतालले गरिरहेको छ, यो एकदमै खुसीको कुरा हो’ उनले भने ‘यसको अझै विकास र स्तरोन्नतीका लागि आवश्यक सहयोग गर्ने कुरामा नगरपालिका सदैव सकारात्मक छ ।’ उनले नगरको पहिचानको रुपमा पनि गेटा आँखा अस्पताल रहेको बताएका छन् ।

नगरको आर्थिक सहयोगमा आँखा अस्पतालमा निर्माण भईरहेको चमेना गृहको निर्माण कार्यलाई तिब्रता दिनका लागि पनि आफु कटिबद्ध रुपमा लाग्ने उनको भनाई थियो । फरक प्रसंगमा बोल्दै उनले गेटा मेडिकल कलेजको सञ्चालनका लागि निरन्तर समन्वय गरिरहेको बताए । उनले मेडिकल कलेजको यथासिघ्र सञ्चालनका लागि स्वास्थ्यमन्त्रीलाई अनुगमनका लागि आग्रह गरेको समेत बताएका छन् ।

अधिवेशनमा गेटा आँखा अस्पताल अन्र्तगत प्रदेशभर रहेका अस्पतालले हालसम्म दिएका सेवा सुविधा तथा कार्यका बारेमा जानकारी दिईएको थियो । २०३८ सालमा संचालित गेटा आँखा अस्पतालबाट गत वर्ष मात्र २ लाख ७० हजार ४ सय ९६ ले सेवा लिएको अस्पतालका निर्देशक डा. सुरेश राज पन्तले जानकारी दिए । उनले हालसम्म उक्त अस्पतालबाट २० लाख १५ हजार १३२ जनाले सेवा लिएको बताए । हालसम्म विभिन्न स्थानमा गरिएका स्वास्थ्य शिविरबाट ४५ लाख ९९ हजार ८२० जनाले ओपिडी सेवा लिएको अस्पतालका निर्देशक डा.पन्तले बताएका छन् ।

प्रदेश अधिवेशन कार्यक्रममा नेत्र ज्योति संघ केन्दीय कार्यसमितिका महासचिव भरत बहादुर चन्द सहित कैलाली लगायत प्रदेशका बिभिन्न जिल्लाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । प्रदेश उपाध्यक्ष दया कृष्ण जोशीको स्वागत मन्तव्य संगै शुरु भएको कार्यक्रमको सञ्चालन प्रदेश सचिव भुपेन्द्र थापाले गरेका थिए ।

Dhangadhi 2081
Loading...